जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा एक युवकको मृत्यु

जनकपुरः जनकपुरमा शनिबार साँझ चक्कु प्रहारले गर्दा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १९ वर्षीय आँशु यादव रहेका छन् । होली खेल्ने क्रममा विवाद हुँदा चक्कु प्रहारले गर्दा उनकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवाहरूबीच विवाद भएपछि यादवमाथि चक्कु प्रहार भएको थियो । घाइते अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याईएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा जनकपुरधाम–२३ निवासी २१ वर्षीय धर्मेन्द्र महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले जानकारी दिए ।