पुलिस स्तब्ध, मछिन्द्र सेमिफाइनलमा


eShilalekh

२५ चैत्र २०८१, सोमबार ०७:३५

सिमराः साविक विजेता नेपाल पुलिस क्लब १५औं जीतपुरसिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । सिमरा रंगशालामा आइतबार राती सम्पन्न खेलमा मछिन्द्र फूटबल क्लबसंग टाईब्रेकरमा ४–३ ले पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा अघिल्लो वर्षको उपाधि रक्षा गर्ने पुलिसको यात्रामा पूर्णविराम लाग्न पुग्यो ।

यता मछिन्द्रले भने अघिल्लो वर्ष फाइनलमा पुलिससंग व्यहोरेको हारको बदला लिएको छ । १४औं संस्करणको फाइनलमा पुलिसले मछिन्द्रलाई पराजित गर्दै पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको थियो ।

साविक विजेतालाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गर्ने क्रममा मछिन्द्रले उत्कृष्ट खेल पस्कियो । पुलिसले लिएको अग्रता उल्टाउँदै मछिन्द्रले नतिजा आफ्नो पक्षमा पारेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा गोल गर्ने अवसर दुवै टिमले गुमाए । दुवै टिमको आक्रमक खेलले पहिलो हाफ रोमाञ्चक बन्न पुग्यो ।

दोस्रो हाफमा पुलिसले खेलमा अग्रता लियो । खेलको ४८औं मिनेटमा पुलिसले प्रविन थापाको गोलबाट अग्रता लिएको थियो । विवेक पाण्डेले डिबक्स बाहिरबाट प्रहार गरेको बल प्रविन थापालाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

खेलमा १–० ले पछि परेपनि संयमित खेलेको मछिन्द्रले ६१औं मिनेटमा बराबरी गोल फर्कायो । विवेक राईको फ्रिकिक बलमा राजिव लोप्चनले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काए । विवेकको फ्रिकिक बललाई अनिल रानामगरले नियन्त्रणमा लिँदै राजिवलाई प्रहार गर्ने मौका दिएका थिए ।

राजिवको गोलबाट मछिन्द्र खेलमा फर्किएपछि प्रतिस्पर्धा थप रोमाञ्चक बन्न पुगेको थियो । खेलको निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल सिधै टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा मछिन्द्रका गोलरक्षक विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गर्दा विवेक राईको प्रहार बाहिरिएको थियो ।

यता पुलिसका कप्तान मानबहादुर परियार, गोलरक्षक अमित टमाटा र पुजन राईले गोल गरे । विवेक पाण्डेको प्रहार गोल पोष्टबाट बाहिरिदा अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षक विशालले उत्कृष्ट बचाउ गरेका थिए ।

विशाल ग्रिन ईनर्जी प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार नगद हात पारे । उनलाई सिप्रदी ट्रेडिङ वीरगन्जका प्रमुख सन्दीप गुप्ता र ग्रिन इनर्जी प्रालिका संचालक शैलेश शाह ठकुरीले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार अन्तिम क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्नेछन् । हिमालयन शेर्पा दोस्रो जीतपुरसिमरा गोल्डकपको विजेता हो ।

चैत २९ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्