मछिन्द्र लगातार दोस्रो पटक फाइनलमा


eShilalekh

२७ चैत्र २०८१, बुधबार ०९:२४

सिमराः मछिन्द्र फूटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा हानामी बिएफसी भरतपुरलाई १–० ले पराजित गर्दै मछिन्द्र लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

यसअघि १४औं संस्करणमा पनि मछिन्द्र फाइनलमा प्रवेश गरेको थियो । उक्त संस्करणको फाइनलमा खेलमा नेपाल पुलिस क्लबले मछिन्द्रलाई पराजित गर्दै उपाधी उचालेको थियो ।

अघिल्लो वर्ष पुलिससंग पराजित हुँदै उपविजेता बनेको मछिन्द्रले यसपटक पुलिसलाई पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलो खेलमै पुलिससंग भिडेको मछिन्द्रले टाईब्रेकरमा ४–३ को जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षीत गरेको थियो ।

यता सलहेश युवा क्लब सिरहालाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको भरतपुरले मछिन्द्रविरुद्ध उत्कृष्ट खेल पस्किएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । भरतपुरले मछिन्द्रविरुद्ध बनाएको केही राम्रा अवसर गुमाउन पुगेको थियो ।
मछिन्द्रको जितमा अनिल राना मगरले निर्णायक गोल गरे । खेलको ६८औं मिनेटमा अनिलले गरेको गोल निर्णायक बन्यो । खेलको ग्रिन इनर्जी प्लेयर अफ दि म्याच मछिन्द्रका रेजिन सुब्बा घोषित भए ।

उनले १० हजार नगद हात पारे । ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवा र ग्रिन इनर्जी ईण्डष्ट्रिजका संचालक शैलेश शाह ठकुरीले रेजिनलाई पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो सेमिफाइनल खेल हुनेछ । सिमरा रंगशालामा साँझ ६ बजे हुने खेलमा आयोजक नव जनजागृति युवा क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्