एमाले जीतपुरसिमराको अध्यक्षमा त्रिलोक बिक्रम शाह निर्वाचित, यस्तो छ ८३ सदस्यीय नगर कमिटी


eShilalekh

३ बैशाख २०८२, बुधबार १५:२८

सिमराः नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको अध्यक्षतामा त्रिलोक बिक्रम शाह निर्वाचित भएका छन् । एमाले जीतपुरसिमराको दोस्रो नगर अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनबाट शाह अध्यक्षमा निर्वाचित भएका हुन् ।

शाहले दुई सय सात मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार ताराबहादुर बस्नेतले एक सय ६ मत प्राप्त गरे । एमाले नगर कमिटीको निवर्तमान उपसचिव समेत रहेका शाहले अध्यक्ष पदमा एक सय ६ मतको मतान्तरले जित हात पारेका हुन् ।

यसैगरी उपाध्यक्षमा कैमुदिन अंसारी बिजयी भएका छन् । अंसारीले एक सय ८६ मत प्राप्त गर्दा अर्का उम्मेदवार सुनिलकुमार गुप्ताले एक सय २२ मत प्राप्त गरेका छन् । अंसारी र गुप्ता दुवै जनप्रतिनिधि समेत हुन् । अंसारी जीतपुरसिमराको वडा नं. ६ का वडाध्यक्ष हुन् भने गुप्ता वडा नं. ७ का वडाध्यक्ष हुन् ।

सचिव पदमा रवीन्द्रराज भण्डारी निर्वाचित भएका छन् । भण्डारीले एक सय ६८ मत प्राप्त गर्दा अर्का उम्मेदवार रमेशकुमार पौडेलले एक सय ३८ मत पाएका छन् । उपसचिव खुल्लामा विष्णुप्रसाद सापकोटा एक सय ९५ मत ल्याएर बिजयी भएका छन् । उक्त पदका अर्का उम्मेदवार इम्तियाज अंसारीले एक सय एक मत पाएका छन् ।

उपसचिव महिलामा अलौपिया चौधरी बिजयी भएकी छिन् । चौधरीले एक सय ८२ मत पाउँदा अर्की उम्मेदवार समिता शर्माले एक सय २४ मत पाईन् ।

अधिवेशनबाट नगर कमिटीका पदाधिकारीमात्रै निर्वाचनबाट चुनिएका हुन् । ८५ सदस्यीय कमिटीमा पाँच पदाधिकारी र ८० सदस्य रहने व्यवस्था छ । जसमध्ये पाँच पदाधिकारी निर्वाचनबाट निर्वाचित भएका छन् भने ८३ जना निर्विरोध चयन भएका छन् ।

दुई वटा सदस्य पदमा भने कसैको पनि उम्मेदवारी नपरेको प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीले जानकारी दिएका छन् । समावेशीतर्फ अपांगता र वडा नं. २४ को महिला सदस्य पदमा उम्मेदवारी नपरेको भण्डारीले जानकारी दिए ।

कमिटीमा समावेशीतर्फबाट श्रमीक खुल्ला पदमा कुलबहादुर थापामगर, फुल्लादेवी राम, मोहन आचार्य र श्रीपाद दास तत्मा चयन भएका छन् । यसैगरी श्रमीक महिलामा मिरा अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् ।

युवातर्फ इमामुदिन मियाँ, ईश्वर थपलिया, सुनिल मैनाली र सूर्यप्रसाद पौडेल चयन भएका छन् । युवा महिलामा प्रिया रानी रश्मी सिंह चयन भएकी छिन् ।

दलित खुल्लातर्फ चन्द्रबहादुर विक र नरेश राम चयन भएका छन् । दलित महिलाबाट सन्तोषी विक चयन भएकी छिन् ।
सदस्यता र भूगोलका आधारमा वडामा छुट्याईएको सदस्य पदमा सर्वसम्मत् गरिएको थियो । उपमहानगरपालिकाको २४ वटा वडाबाट ६५ जना सदस्य चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्