वीरगन्जमा टायर बालेर प्रदर्शन, हिन्दुवादी समूह र प्रशासनबीच छलफल जारी


eShilalekh

३ बैशाख २०८२, बुधबार १५:०३

सिमराः वीरगन्जमा बुधबार बिहानदेखि विभिन्न स्थानमा हिन्दुवादी समूहले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

हनुमान जयन्तीको उत्सव मनाउँदै गर्दा वीरगन्जमा दुइ समुदायबीचको विवादले उग्ररुप लिएपछि प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि कफ्र्यू आदेश जारी गरेको थियो । कफ्र्यु हटेपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

मंगलबार बेलुका निषेधाज्ञा उल्लंघन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि हिन्दुवादी समूहका युवाहरूले धर्ना गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज गरेको थियो । सो क्रममा तीन जना पत्रकार समेत घाइते भएका छन् ।

प्रदर्शनकारीहरू शनिबारको घटनामा पक्राउ परेका आफ्ना पक्षका दुई युवकको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हिन्दुवादी समूहका अगुवाहरूसँग छलफल गरिरहेका छन् । छलफलमा पर्साका एसपी गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्