मकवानपुरमा सवारी दुर्घटना हुँदा मधेस प्रदेशका दुईजनाको मृत्यु

सिमराः मकवानपुरमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीय नीलमदेवी राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी सर्लाहीकी १३ वर्षीय मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका २ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।
दुर्घटनाको जानकारी प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली उद्धार कार्यमा लागेको थियो ।
दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।