दुर्घटना अपडेटः एक जना मृतकको पहिचान खुल्यो, ट्रिपर चालक फरार


eShilalekh

५ बैशाख २०८२, शुक्रबार १६:२०

सिमराः पथलैया–निजगढ सडकखण्डको १३ किलोमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दुइमध्ये एक जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही बरथवा नगरपालिका १५ हजरियाका ४६ वर्षीय नारायण हरी शर्मा रहेका छन् । उनी कारमा सवार थिए । दुर्घटनामा ज्यान गुमाएका कार चालकको भने पहिचान खुल्न बाँकी छ ।

जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित भूईपुल नजिकको क्षेत्रमा कार र ट्रिपर ठोक्किएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार निजगढबाट पथलैयातर्फ आउँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको ट्रिपर र पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै कारमा सवार दुई जनालाई निजगढस्थित अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार ट्रिपर चालक फरार छन् । ट्रिपर सडक छेउमा पल्टिएको छ भने कारको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्