रौतहट प्रहरीद्वारा स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहटः रौतहट प्रहरीले सोमबार स्रोत नखुलेको ठूलो मात्रामा नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्लाको कुन्डवा चैनपुर ग्राम पंचायतका २१ वर्षीय राज किशोर ठाकुर रहेका छन् ।
मौलापुर नगरपालिका ६ परशुरामपुर सडकखण्ड नजिकै जाँचका क्रममा भारतबाट अवैध रूपमा भित्रिएको रकमसहित ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार ठाकुरको साथबाट आठ लाख नेपाली रुपैयाँ र बीआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । बरामद रकममध्ये ५०० रुपैयाँ दरका ६ लाख, दुई सय दरका एक लाख र एक सय दरका एक लाख नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठाकुरले उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।