एनआरएनए एनसीसी अमेरिकाद्वारा १६ विद्यार्थीलाई छात्रवृत्ति

अमेरिका: गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले यस वर्ष १६ जना नेपाली मूलका विद्यार्थीलाई छात्रवृत्तिसहित सम्मान गर्ने भएको छ ।
यो छात्रवृत्ति कार्यक्रम एनआरएनए एनसीसी यूएसएले प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ । जसले अमेरिकामा अध्ययनरत नेपाली मूलका मेधावी विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ।
यस वर्षको छात्रवृत्ति कार्यक्रम विशेष रूपमा प्रतिस्पर्धात्मक बनेको थियो । कुल तीन सय ३४ जना नेपाली मूलका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । जसले कार्यक्रमप्रति चासो र रूचि बढेको स्पष्ट हुन्थ्यो ।
आवेदन दिएका मध्ये ६२ जना विद्यार्थीहरूले ग्रेड पोइन्ट एभरेज ४.० अर्थात् पूर्णाङ्क ल्याएका थिए, जुन उनीहरूको उत्कृष्ट शैक्षिक प्रदर्शनको परिचायकको रुपमा लिइएको छ ।
छात्रवृत्ति विजेता विद्यार्थीहरू विभिन्न प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । शैक्षिक स्तर, अतिरिक्त क्रियाकलापमा संलग्नता र नेपाली समुदायमा गरिएको योगदानलाई मूल्यांकन गरेर उनीहरु छनौटमा परेका हुन् ।
यस वर्ष छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी र उनीहरूको शैक्षिक संस्था:
अन्जिला देशमारु – युनिभर्सिटी अफ साउथ डाकोटा
बिधत्री अमात्य – युनिभर्सिटी अफ सिन्सिनाटी
प्रथम राज भुजेल – युनिभर्सिटी अफ विस्कन्सिन–ग्रीन बे
आयुषा पोखरेल – बार्नार्ड कलेज अफ कोलम्बिया युनिभर्सिटी
प्रजिता श्रेष्ठ – युनिभर्सिटी अफ म्यारील्यान्ड, बाल्टिमोर काउन्टी
रुशिल निधि नेपाल – युनिभर्सिटी अफ रोड आइल्याण्ड
दिवश पन्त – युनिभर्सिटी अफ बफेलो
मनोज बगाले – फिस्क युनिभर्सिटी
शुभांशु पोखरेल – युनिभर्सिटी अफ केन्टकी
प्रभिन बजगाई – युनिभर्सिटी अफ साउर्थन मिसिसिप्पी
सुष्मा लम्साल – टेक्सास स्टेट युनिभर्सिटी
एलिना दहाल – युनिभर्सिटी अफ लुइजियाना
रमिका पाण्डे – फिस्क युनिभर्सिटी
मौसहम बिष्ट – ब्रिघम यंग युनिभर्सिटी-आइडाहो
अनुभव अधिकारी – द कलेज अफ आइडाहो
अन्जलि कार्की – युनिभर्सिटी अफ आइडाहो
छात्रवृत्तिको विजेताहरूको घोषणा एक विशेष कार्यक्रममार्फत गरिएको थियो । कार्यक्रममा एनआरएनए एनसीसी यूएसएका अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । पदाधिकारीहरूले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष सरोज सिग्देलले भने `यी प्रतिभाशाली विद्यार्थीहरू हाम्रो भविष्यका उज्यालो तारा हुन्। एनआरएनए एनसीसी यूएसएले सधैं शिक्षा र प्रतिभाको सम्मान गर्ने नीति अवलम्बन गर्दै आएको छ । यसरी उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु हाम्रो संस्थाको गौरव र गर्वको कुरा हो ।´
छात्रवृत्ति कार्यक्रमको महत्व
एनआरएनए एनसीसी यूएसएले छात्रवृत्ति कार्यक्रमलाई आर्थिक सहयोगको माध्यमको रूपमा मात्र नभई, नेपाली मूलका विद्यार्थीहरूमा आत्मबल र प्रेरणा बढाउने माध्यमको रूपमा लिएको छ ।
संस्थाका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्षमतामा विश्वास बढाउने थप मिहिनेत गरेर उत्कृष्टता हासिल गर्ने र भविष्यमा आफ्नो ज्ञान र सीपबाट नेपाली समुदाय र विश्वमा नेपाललाई चिनाउने अवसर प्रदान गर्छ ।
छात्रवृत्ति पाएका विद्यार्थीहरूले पनि उत्साह व्यक्त गरेका छन् । उनीहरूले छात्रवृत्तिले आफूहरुको शैक्षिक यात्रामा थप ऊर्जा दिएको प्रतिक्रिया दिए ।
भविष्यका योजना
एनआरएनए एनसीसी यूएसएले भविष्यमा छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने योजना बनाएको छ । कोषाध्यक्ष सरोज सिग्देलका अनुसार, छात्रवृत्तिको रकम बढाउने, आवेदन प्रक्रिया अझ सरल बनाउने र कार्यक्रमलाई थप पारदर्शी बनाउने विशेष योजना अगाडि सारिएको छ ।
भविष्यमा एसटिईएम विषयमा अध्ययनरत विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिने, समाजसेवा तथा नवप्रवर्तनशील परियोजनामा लागेका विद्यार्थीहरूलाई अतिरिक्त छात्रवृत्ति अवसर दिने योजना अगाडि सारिएको सिग्देलले जानकारी दिए ।