जसपा: कलैया उपमहानगरपालिकामा नगर प्रमुख र उपप्रमुख सिफारिस


eShilalekh

३ बैशाख २०७९, शनिबार १६:१४

कलैया: जनता समाजवादी पार्टी (जसपा) ले कलैया उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदका आकांक्षीको नाम सिफारिस गरेको छ । कलैयामा शनिवार बसेको जसपा नगर कमिटीको वैठकले प्रमुखमा तीन र उपप्रमुखमा चार जनाको नाम सिफारिस गरेको हो ।

जसपा नगर कमिटीका अध्यक्ष शिवनाथ पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुट्न नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । नगर प्रमुख पदका लागि सिफारिस हुनेमा प्रमोद प्रसाद गुप्ता, धर्मेन्द्र यादव र सुनिल दास रहेका छन् ।

गुप्ता अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदका उम्मेदवार थिए । संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका गुप्ताले नौ हजार चार सय चार मत प्राप्त गर्दै तेस्रो भएका थिए । कलैयामा कांग्रेस बिजयी र एमाले दोस्रो स्थानमा थियो ।

यसैगरी वैठकले उपप्रमुखमा लक्ष्मीदेवी पटेल, उमरावती यादव, प्रकाश चौगाई र शंकर यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये पटेल अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट उपप्रमुख पदको उम्मेदवार थिईन् । उक्त निर्वाचनमा उनले आठ हजार सात सय आठ मत प्राप्त गर्दै तेस्रो भएकी थिईन् ।

जसपा नगर कमिटी अध्यक्ष पटेलले सिफारिस भएका उम्मेदवारको विषयमा कार्यकारिणी बैठकमा छलफल हुने र त्यसमा पनि नटुंगिए जिल्ला कमिटीमा पठाउने जानकारी दिए । जिल्ला कमिटीबाट पनि निर्णय हुन नसकेमा उम्मेदवारको अन्तिम टुंगो प्रदेश कमिटीले लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्