यु २० राष्ट्रिय टिममा छानिएका बाराका खेलाडी भन्छन् ‘देशको प्रमुख टिमबाट खेल्ने सपना छ’
सिमराः भारतको भुवनेश्वरमा आगामी साता हुने साफ यु २० च्याम्पियनसिप प्रतियोगिताका लागि २३ सदस्यीय राष्ट्रिय टिम छनौट हुँदा बाराका चार खेलाडीले स्थान पाएका छन् ।
प्रशिक्षक मेघराज केसीले अन्तिम २३ खेलाडीको नाम घोषणा गर्दा जीतपुरसिमरा उपमहानगरपालिका २ का मोहित गुरुङ, ४ का अजय चौधरी, १५ का युनेश चौधरी र निजगढ नगरपालिका ४ का जन्मजय धामी छनौट भएका हुन् ।
राष्ट्रिय टोलिमा पर्न सफल चार मध्ये तीन जना यसअघि विभिन्न उमेर समुहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका र एक जना पहिलो पटक छनौट भएका हुन् । देशभरीका सात सय जनालाई उछिन्दै राष्ट्रिय टोलीमा छनौट भएपछि खेलाडीहरु निकै उत्साहित छन् ।
हाल काठमाण्डौस्थित एन्फा क्म्पलेक्समा रहेका खेलाडी शुक्रवार भारत प्रस्थान गर्नेछन् ।
यी हुन बाराबाट छनौट भएका चार खेलाडी ।
सिमरा एकेडेमीका उत्पादन हुन् मिडफिल्डर मोहित गुरुङ । जीतपुरसिमरा गोल्डकपको आयोजक नव जनजागृति युवा क्लबले संचालन गरेको सिमरा एकेडेमीबाट फूटवल खेल्न सुरु गरेका मोहित आगामी साता भारतको भुवनेश्वरमा हुने यु २० साफ च्याम्पियनसिपमा छनौट हुन सफल भएका छन् ।
जीतपुरसिमरा २ का मोहितसंग यसअघि यु १५ र यु १६ बाट नेपालका लागि खेलेको अनुभव छ । उनि सन् २०१९ मा भारतमा सम्पन्न यु १५ साफ च्याम्पियनसिप र जोर्डनमा सम्पन्न एएफसी क्वालिफायरमा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए ।
साफ च्याम्पियनसिपमा भारत र भुटानसंगको खेलमा मैदानमा उत्रिएका मोहित एएफसी क्वालिफायरमा श्रीलंका, ताजकिस्तान र कुवेतविरुद्ध खेलेका थिए । मोहितले श्रीलंकाविरुद्ध एक गोल गरेका थिए ।
उमेर समुहमा तेस्रो पटक छनौटमा परेका मोहित निकै खुशी देखिएका छन् । उनले आफ्नो सफलतामा बुवा महेन्द्र गुरुङ, आमा मोती राईसहित जिल्ला फूटवल संघका अध्यक्ष रामचन्द्र लामा, सुनिल राउत र अन्य प्रशिक्षकको सहयोग रहेको प्रतिक्रिया दिए ।
प्रविणता तहको अध्ययन गर्दै गरेका मोहितको लक्ष्य नेपालको राष्ट्रिय टिमबाट खेल्ने रहेको छ । ‘धेरै मेहनत गरेर यहाँसम्म आईपुगेको छु’ मोहितले भने ‘उमेर समुह हुदै देशको प्रमुख टिमबाट खेल्ने सपना छ ।’
कुनै समयका चर्चित फूटवलर लखन चौधरीका छोरा हुन् अजय चौधरी । जीतपुरसिमरा ४ घर भएका अजय उत्कृष्ट फूटवलर बन्न चाहन्छन् ।
नेपालको उमेर समुहमा राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी समेत सम्हालिसकेका अजय रक्षापंक्तीका खेलाडी हुन् । उनका बुवा लखन पनि रक्षापंक्तीका खेलाडी थिए । विभिन्न प्रतियोगिताको अनुभव बटुलेका लखनले छोरा अजयलाई फूटवल खेल्न प्रेरित गर्ने गरेका छन् ।
अजय पनि यसअघि भारतमा सम्पन्न यु १५ साफ च्याम्पियनसिप र जोर्डनमा सम्पन्न यु १६ एएफसी क्वालिफारयमा नेपाली टोलीबाट खेलिसकेका छन् । दुवै प्रतियोगिताको सबै खेल खेलेका अजयले जोर्डनमा उपकप्तानको जिम्मेवारी सम्हालेका थिए ।
बुवा लखन र आमा हेमन्तीका सन्तान अजय १८ बर्षका छन् । उनि पनि प्रविणता तहमा अध्ययनरत छन् । यु २० साफ च्याम्पियनसिपका लागि छनौट भएका अजयको लक्ष्य उक्त प्रतियोगिताको उपाधी जित्ने रहेको छ ।
‘हामी देशका लागि खेल्न जादैछौं । हाम्रो लक्ष्य उक्त प्रतियोगिता जित्ने नै हुनेछ’ अजयले भने ‘त्यसबाहेक फूटवलमा धेरै मेहनत गरेको छु । सफलता पनि पाएको छु । अब देशको मुख्य टिमबाट खेल्न चाहन्छु । त्यसका लागि धेरै मेहनत गर्नुपर्नेछ ।’
बारा निजगढ ४ का हुन मिडफिल्डर जन्मजय धामी । निजगढस्थित पुरानो निजगढबाट यु २० सम्मको यात्रा उनका लागि पनि सहज छैन् ।
सानो उमेरदेखी नै फूटवलमा रुची राख्ने जन्मजयले यो यात्रामा निकै मेहनत गरेका छन् । उनिसंग पनि अन्तर्राष्ट्रिय खेलको अनुभव छ । जन्मजयले यसअघि यु १५ र यु १६ बाट नेपालका लागि दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
भारतमा २०१९ मा सम्पन्न यु १५ साफ च्याम्पियनसिपमा जन्मजयले श्रीलंका, बंगलादेश र भारतविरुद्ध खेलेका थिए भने जोर्डनमा सम्पन्न यु १६ एएफसी क्वालिफायरमा जोर्डन र ताजकिस्तानविरुद्ध मैदानमा उत्रिएका थिए ।
बुवा देवानन्द धामी र आमा हेमा धामीका सन्तान जन्मजय १८ वर्षका हुन् । उनि कक्षा १२ मा अध्ययनरत छन् । फूटवलमा भविष्य खोज्दै गरेका जन्मजय यु २० टिममा छनौट भएपछि खुशि देखिन्छन् । उनको पनि लक्ष्य नेपालको प्रमुख टिमबाट खेल्ने छ ।
फूटवलमा बुवा र आमाको साथ र सहयोग पाएका जन्मजय अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन र ट्रफि हात पार्न चाहन्छन् । यु २० साफ च्याम्पियनसिपमा देशका लागि मेहनत गरेर खेल्ने उनको तयारी छ ।
जीतपुरसिमरा १५ का युनेश चौधरी गोलरक्षक हुन् । पहिलो पटक उमेर समुहको राष्ट्रिय टिममा परेका युनेश निकै खुशी छन् ।
नेपालका विभिन्न क्लब र बि डिभिजन लिग खेलेका युनेशसंग राष्टिय टिमको अनुभव भने छैन् । यसअघि सन २०१९ मा जोर्डनमा सम्पन्न एएफसी क्वालिफायरका लागि क्याम्पमा परेका युनेश अन्तिम टोलीमा भने अटाउन असफल भएका थिए ।
राष्ट्रिय टिममा पर्न असफल भएपनि निरन्तर फूटवल खेल्दै आएका युनेश यसपटक यु २० साफ च्याम्पियसिपका लागि छनौट भएका छन् । पहिलो पटक देशको राष्ट्रिय टिममा छनौट हुन पाउदा लगातारको मेहनतले सफलता दिएको उनको तर्क छ ।
बुवा मुरलीधर र आमा अनिता चौधरीका छोरा युनेश १७ वर्षका छन् । कक्षा १२ मा अध्ययरत युनेश सहिद स्मारक बि डिभिजिन लिग २०७८ का उत्कृष्ट गोलरक्षक हुन् । आरसिटीबाट बि डिभिजन लिग खेलेका युनेशले भक्तपुर एफसी, वीरगन्ज युनाईडेटलगायतका क्लबबाट विभिन्न प्रतियोगिता खेलेका छन् ।
राष्ट्रिय टिममा परेपछि पहिलो सपना पूरा भएको बताउदै युनेशले अब देशको प्रमुख टोलीबाट डेब्यु गर्ने लक्ष्य रहेको सुनाए । उनले आफ्नो सफलतामा प्रशिक्षक दामोदर सिल्पकारलाई सम्झन चाहेका छन् ।
देशलाई उत्कृष्ट खेलाडी दिनेछौंः रामचन्द्र लामा
बारा जिल्ला फूटवल संघका अध्यक्ष रामचन्द्र लामा जिल्लाका चार खेलाडी साफ च्याम्पियनसिपका लागि यु २० राष्ट्रिय टिममा परेपछि उत्साहित छन् । जिल्लाले छनौट गरेर पठाएको १४ खेलाडीमध्ये ४ खेलाडी देशका लागि छानिनु ठुलो उलपब्धी रहेको लामा बताउछन् ।
जीतपुरसिमरा गोल्डकप आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष समेत रहेका लामाले देशलाई उत्कृष्ट खेलाडी उत्पादन गरेर दिन आफूहरु समक्ष रहेको बताए । ‘फूटवललाई सक्रिय गराउदै लैजाने हो भने उत्कृष्ट खेलाडी हामी दिन सक्छौ भन्ने आत्मबिश्वास बढेको’ लामाले भने ‘जिल्लामा भईरहेको फूटवलको गतिविधि नै यसको बलियो पक्ष हो ।’
जिल्लामा फूटवलको विभिन्न गतिविधिमा सक्रिय हुदै जिल्ला संघको नेतृत्वमा पुगेका लामाले खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘एकैपटक चार खेलाडीले स्थान पाउदा अन्य खेलाडीलाई समेत हौसला मिल्छ, हामीमा समेत उर्जा बढ्छ’ लामाले भने ‘अब हाम्रो लक्ष्य फूटवलको गतिविधिलाई सक्रिय बनाउने र खेलाडी उत्पादन गर्ने नै हुनेछ । ‘