सापकोटाको उपचारका लागि सहयोग जुट्दै, अनेरास्ववियुद्धारा १६ हजार हस्तान्तरण
सिमराः पौडी खेल्ने क्रममा लडेर घाईते भएका जीतपुरसिमरा १४ मौलापुरका राजिव सापकोटाको उपचारार्थ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डुमरवानाले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको छ ।
अनेरास्ववियुको नेतृत्वमा संकलन भएको पन्ध्र हजार नौ सय ९५ रुपैया राजिवका बुवा बेदप्रसादलाई हस्तान्तरण गरिएको हो । १० कक्षामा अध्ययनरत राजिवको उपचारका लागि रकम जुटाउन अनेरास्ववियुले डुमरवानामा शनिवार सहयोग संकलन गरेको थियो ।
हेटौडास्थित मामाघर गएका राजिव शहिद स्मारकमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा लडेर घाईते भएका थिए । लडेर मेरुदण्ड भाचिएका राजिवको काठमाण्डौस्थित सुष्मा कोईराला ममोरियल अस्पतालमा उपचार भईरहेको छ । भरतपुरबाट उनलाई थप उपचार गर्न काठमाण्डौ लगिएको हो ।
उपचारका क्रममा रहेका राजिवको स्वास्थ्यमा सुधार भईरहेको उनका बुवा बेदप्रसादले जानकारी दिए । आर्थिक अवस्था कमजोर सापकोटाको परिवारले उनको उपचारमा १० लाख भन्दा बढी रकम खर्च गरिसकेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि स्थानीय स्तरमा सहयोग संकलन अभियान संचालन हुन थालेका हुन् ।
यसअघि योङ निति ब्याण्ड, हिपहप तराई र सिमरा युवा समाजले सिमरामा च्यारिटि सो गर्दै रकम संकलन गरेको थियो । सिमरास्थित मुख्य चोकमा आयोजना गरिएको कार्यक्रमबाट उनन्चालिस हजार पाँच सय रकम संकलन गरी सापकोटा परिवारलाई हस्तान्तरण गरिएको थियो ।
विभिन्न संघसंस्थाको पहलमा भएको सहयोग संकलन अभियानबाट चार लाख भन्दा बढी रकम उठेको छ । घाईते राजिवको स्वास्थ्यमा पूर्ण सुधार नआएसम्म चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भएकाले उपचारमा सहयोग गरिदिन उनका बुवा बेदप्रसादले अपील गरेका छन् ।