खेलकुद मन्त्रीले गरे सिमरा रंगशालाको अवलोकन, पूर्वाधार निर्माणमा सहयोग गर्ने आश्वासन


eShilalekh

२६ श्रावण २०७९, बिहीबार २०:५८

सिमराः युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले विहिवार सिमरा रंगशाला स्थलगत अवलोकन गरेका छन् । सरकारी उदाशिनताका कारण सुस्त गतिमा निर्माण हुदै आएको रंगशालाको अवस्था बुझ्न मन्त्री गहतराज सिमरा आएका हुन् ।

रंगशालाको निरिक्षण पछि प्रतिक्रिया दिदै मन्त्री गहतराजले स्थानीय स्तरको सक्रियता र सहभागितामा बनेको वर्तमान संरचना अत्यन्तै लोभलाग्दो रहेको बताए । उनले सरकारको प्राथमिकतामा नपरेपनि देशकै उत्कृष्ट रंगशालाको रुपमा विकास गर्न स्थानीयले देखाएको सक्रियताको उनले प्रशंसा गरे ।

मन्त्री गहतराजले पछिल्लो समय सिमरामा बढेको खेलकुद गतिविधिको विषयमा आफू जानकार रहेको भन्दै सिमरा रंगशालाको निर्माणका सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले तत्कालै ठुलो बजेट नभएपनि बहुवर्षिय योजना बनाएर कामलाई निरन्तरता दिनुपर्ने गर्नुपर्ने बताए ।

‘अब बहुवर्षिय योजना बनाएर अघि बढ्नुपर्छ । ठुलो होईन सानो बजेटबाटै काम सुरु गरौं’ मन्त्री गहतराजले भने ‘त्यसका लागि तपाईहरु योजना बनाउनुस्, सहयोग गर्न म तयार छु ।’ मन्त्री गहतराजले अर्थ मन्त्रालयसंग छलफल गरेर बजेट विनियोजन गर्नका लागि आफूले पहल गर्ने बताए ।

सिमरा रंगशाला देशकै लागि समेत आवश्यक रंगशाला भएका कारण यसको पूर्वाधार निर्माणमा सरकार पछि हट्न नहुने मन्त्री गहतराजतको भनाई थियो । तर सरकारी उदाशिनताका कारण एक दशक भन्दा बढी समयदेखी रंगशाला निर्माणको काम सुस्त गतिमा अघि बढिरहेको छ ।

मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्माले सिमरा रंगशालाको पूर्वाधारमा संघीय सरकारले चासो देखाउन जरुरी रहेको बताएका छन् । रंगशाला निरिक्षणपछि आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा सांसद विश्वकर्माले स्थानीय र प्रदेश सरकारको बजेट भन्दा ठुलो योजना रहेका कारण संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

उनले मन्त्री गहतराजलाई रंगशालाको पूर्वाधार निर्माणमा अग्रसरता देखाउन आग्रह गरे । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बहुवर्षिय योजना बनाएर काम अघि बढाउन मन्त्रीलाई ध्यानाकर्षण गराए ।

जीतपुरसिमरा गोल्डकप आयोजना हुँदै आएको रंगशाला लामो समयदेखी निर्माणाधिन अवस्थामा छ । रात्री अवस्थामा खेलकुद गराउन सकिने गरी फ्लडलाईट समेत राखिएको रंगशालाको अन्य पूर्वाधार भने अधुरो छ । प्यारापिट निर्माण नहुदा अन्य खेलकुदका लागि पूर्वाधार समेत निर्माण गर्न सकिएको छैन् ।

रंगशालामा निर्माण हुने प्यारापिटको तल अन्य खेलकुदका लागि कभर्ड हललगायतको पूर्वाधार बनाउने योजना रहेको छ । गोल्डकप आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाउदै सिमरा रंगशाला र जीतपुरसिमरा गोल्डकपलाई संघीय सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्