निजगढ नगरपालिकाको नगरसभा सम्पन्न, ९५ करोडको बजेट पारित
सिमराः निजगढ नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । नगरसभाको पहिलो वैठक बसेर स्थगित १०औं अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको हो । सभाले चालु आर्थिक २०७९/०८० का लागि २४ करोड ७२ लाख सशर्त अनुदानसहित ९५ करोडको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाकी उपप्रमुख सोममाया थिङले सभामा बजेट प्रस्तुत गरेकी थिईन् । नगरपालिकाले बजेटमा कृषी, सिचाई र खानेपानीलाई प्राथमिकता दिएको छ । उपप्रमुख थिङद्धारा प्रस्तुत बजेटमा डिप बोरिङ, सिँचाई तथा खानेपानी निर्माणतर्फ १३ करोड ८ लाख र तटबन्द निर्माणमा ६० लाख रुपैया विनियोजन गरिएको छ । यसैगरी सडक, नाला र अन्य पूर्वाधार निर्माणको लागि ५ करोड ७२ लाख रुपैया विनियोजन भएको छ ।
सभाले विनियोजन विधेयक सर्वसम्मतिले पास गर्नुका साथै न्यायिक समिति समेत गठन गरेको छ । उपप्रमुख संयोजक रहने समितिको सदस्यमा वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम तिमिल्सिना र कार्यपालिका सदस्य रेणुकुमारी दर्जीलाई चयन गरिएको छ ।
नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न सभामा वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा र वडा नम्बर १३ का अध्यक्ष सूर्यबहादुर घलानले शुभकामना मन्तव्य राखेका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत समुन धिताल, लेखा शाखा प्रमुख शिव प्रसाद देवकोटा, प्रशासन प्रमुख रविन घिमिरेलगायतको उपस्थिती रहेको थियो ।
नगरसभाको उद्घाटनसत्र सम्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतको विवादमा अल्झिएको नगरपालिकाले लामो समयपछि सभा सम्पन्न गरेको हो ।