एरोटेक उद्योगको डकैती प्रकरणपछि फरार रहेका महतो पक्राउ


eShilalekh

४ आश्विन २०७९, मंगलवार ११:५८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीस्थित एरोटेक प्रालिमा डकैती गर्ने क्रममा प्रहरीसंगको झडपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले सोमबार राती पक्राउ गरेको छ ।

हातहतियारसहित उद्योगमा डकैती गर्न आएका समूहमध्येका लालबाबु महतोलाई प्रहरीले जीतपुरसिमरा १० स्थित बलुवाटोलबाट पक्राउ गरेको हो । भदौ १८ गते राती भएको उक्त घटनापछि महतो फरार रहेका थिए ।

उद्योगमा डकैती गर्न हातहतियारसहित समूह प्रवेश गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय जीतपुरको टोली घटनास्थलमा पुग्दा डाँका र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरी बरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही घाईते भएका थिए ।

झडपका क्रममा डाँका समूहले एक राउण्ड र प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको थियो । प्रहरीले डकैती गर्न आएकामध्ये जीतपुरसिमरा ९ का जयराम पासवान र जीतपुरसिमरा १० का जवाहिर महतोलाई सोही दिन पक्राउ गरेको थियो ।

पक्राउ परेकाको बयानका आधारमा महतोलाई प्रहरीले पक्रन सफल भएको हो । प्रहरीका अनुसार उक्त दिन १०-१२ जना व्यक्ति समूहमा बनाएर डकैती गर्न उद्योगभित्र प्रवेश गरेका थिए ।

पक्राउ परेकालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्