हातेमालो सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न
सिमराः हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य १०१ वर्षीय नोककृष्ण मुल्मीले गरेका थिए ।
साधारण सभाको उद्घाटन कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय संचालक हरेराम पटेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २१ का सुवास श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।
साधारण सभामा मन्तब्य राख्दै निवर्तमान प्रदेशसभा सदस्य गुरुङले सृमद्ध समाज निर्माणमा सहभागीको भूमिका अहम हुने बताईन् । यसैगरी अर्की निवर्तमान प्रदेश सभा सदस्य लामाले आत्मनिर्भर र जिविकोपार्जनमा सहभागी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुपर्ने बताएकी छिन् ।
उपमहानगरपालिकाका नगर उपप्रमुख अधिकारीले सहकारी क्षेत्रसंग संस्थागत सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताए । उपमहानगरपालिकाले समाजका विभिन्न क्षेत्रलाई सम्बोधन हुने गरी योजना बनाएर अघि बढिरहेको बताउदै उपप्रमुख अधिकारीले सामाजिक क्षेत्रमा सक्रिय संस्थालाई सहकार्यका लागि आवहान गरे ।
उपप्रमुख अधिकारीले स्थापनाको सुरुवातदेखि सदस्यलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आएको र हातेमालो सहकारी यतिबेला देशकै उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन सफल भएको बताए । उनले उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण सहकारीलाई आर्थिक, सामाजिक रुपान्तरणका लागि सहकारीका सिद्धान्तमा केन्द्रीत भएर काम गर्न सुझाव दिए ।
कार्यक्रममा नेफस्कुनका केन्द्रीय संचालक पटेल, वडाध्यक्ष नं. १ का अध्यक्ष गुरुङ, वडा नं. २२ का अध्यक्ष श्रेष्ठलगायतले मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव दीपक भट्टले गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष संजय साहले स्वागत मन्तब्य राखेका थिए ।
सहकारीको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको उपस्थिती रहेको थियो । उद्घाटन सत्रमा विभिन्न विद्यालयका छात्रछात्राको सांगीतिक प्रस्तुती समेत रहेको थियो ।