बडादसैं सुरु, आज जमरा राखिदैं


eShilalekh

१० आश्विन २०७९, सोमबार ०८:४६

सिमराः बडादसैं आज (सोमबार) देखि सुरु भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँको पहिलो दिन घटनास्थापन गरिदैछ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।

वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत बिहान १०ः२३ मा शुभ रहेको छ ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरू हुन्छ । नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्