आज विजयादशमी, टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा


eShilalekh

१९ आश्विन २०७९, बुधबार १०:४५

सिमराः आज विजयादशमीको मुख्य दिन अर्थात दसैंको टीका लगाउने दिन । आज आफ्नो मान्यजनबाट देवीको प्रसादस्वरुप टीका तथा जमरा लगाईन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११ः५१ बजेको समय टीका लगाउनका लागि उत्तम रहेको छ । घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ । यस पर्व अन्तर्गत घटस्थापनादेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चना सहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म लगाइन्छ ।

नौ दिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजा आराधना गरी राखिएको जमरा सहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनि आशीर्वाद लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्