बारामा ९ लाख नक्कली नेपाली नोटसहित तीन पक्राउ


eShilalekh

२५ आश्विन २०७९, मंगलवार १०:४९

कलैयाः भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २५ वर्षीय रंजितकुमार मुखिया, बारा कलैया उपमहानगरपालिका १५ का ३४ वर्षीय सैनुल्लाह अंसारी र सिम्रौनगढ २ का ३६ वर्षीय बिनाका मुखिया बिन रहेका छन् ।

प्रहरीले रंजितलाई नक्कली नोटसहित र अन्य दुईलाई रंजितको बयानका आधारमा पक्राउ गरेको हो । चार दिन अघि भारतिय नम्बर प्लेटको मोटरसाईकलमा आउदै गरेका रंजितलाई सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका ५ स्थित कनकपुर टोलमा पक्राउ गरेको थियो ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मोटरसाईकल चेकजाँच गर्ने क्रममा मुखियाको कम्मरको पेटीमा लुकाएको अवस्थामा एक लाख र मोटरसाईकलको सीट मुनि लुकाएको आठ लाखसहित ९ लाख बरामद भएको हो । पक्राउ परेलगत्तै रंजितले उक्त रकम सैनुल्लाह अंसारी र बिनाका मुखिया बिनले मगाएको बयान प्रहरीलाई दिएका थिए ।

उनकै बयानका आधाररमा प्रहरीले अंसारी र बिनलाई खोजी गरी पक्राउ गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्