कांग्रेस कार्यकर्ताको स्वाभिमानमाथीको प्रहार रोक्न स्वतन्त्र उम्मेदवारीः नेतृ रायमाझी


eShilalekh

२५ आश्विन २०७९, मंगलवार ११:५५

सिमराः नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझीले गठबन्धनका नाममा नेपाली कांग्रेसका कार्यकर्ताको स्वाभिमानमाथी भईरहेको प्रहार रोक्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छिन् ।

बारा क्षेत्र नं. ४(क) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी रायमाझीले एक विज्ञप्ती जारी गर्दै कांग्रेस भित्रको आन्तरिक किचलो र व्यक्तिगत स्वार्थविरुद्ध आफूले विद्रोह गरेको बताईन् ।

विज्ञप्तीमार्फत देशभरीका स्वाभिमान कार्यकर्तामाथी भईरहेको प्रहारको भत्र्सना समेत गर्दै नेतृ रायमाझीले लामो समयसम्म सक्रिय रहेको पार्टीको निर्णय विपरित उम्मेदवारी दिनुपर्ने परिस्थिती बुझिदिन कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरेकी छिन् ।

बलियो जनमत रहेको बारा क्षेत्र नं. ४ अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले उम्मेदवारी दिन नपाएपछि यस क्षेत्रका कांग्रेस कार्यकर्ता रुष्ट छन् । गठबन्धनका नाममा पार्टीको अस्तित्व गुम्दै गएको कांग्रेस नेताकार्यकर्ताको भनाई छ ।

सत्ता गठबन्धनबीच यस क्षेत्रबाट प्रतिनिधिसभामा नेकपा एकिकृत समाजवादी, प्रदेशसभामा नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उम्मेदवारी दिने सहमती भएको थियो । सहमतीअनुसार गठबन्धन दलले उम्मेदवारी दर्ता गराएका छन् । तर कांग्रेस कार्यकर्ता भने यसपटक विद्रोह गर्ने मनसायमा देखिएका छन् ।

यसअघि स्थानीय तह निर्वाचनमा कांग्रेसले उपप्रमुख लिएर जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पद नेकपा माओवादी केन्द्रलाई छाड्नुपरेको थियो । उक्त निर्वाचनमा माओवादी केन्द्र निर्वाचित हुँदा कांग्रेस उम्मेदवार पराजित भएका थिए ।

उपप्रमुख पदमा कांग्रेस उम्मेदवार पराजित भएर प्रमुख पदमा माओवादी उम्मेदवार निर्वाचित भएकै कारण यस निर्वाचनमा माओवादी केन्द्रले प्रदेशसभामा आफ्नो दावी प्रस्तुत गरेको थियो । दावी गरेअनुसारनै माओवादी केन्द्रले ४(क) बाट टिकट प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्