बारा ४ः किसान श्रेष्ठलाई छैन सहज, यस्ता छन् कारण


eShilalekh

२६ आश्विन २०७९, बुधबार १३:३०

सिमराः निकै तामझामका साथ बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि तनहुँका निवर्तमान सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आईतवार मनोनयन दर्ता गराए । सिमरा र तनँहुबाट ल्याइएको बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका पूर्व श्रममन्त्री श्रेष्ठले जीतपुरसिमरा उपमहानगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय पुग्नासाथ संचारकर्मीलाई भने ‘अब मंसिर ४ कुरिराख्नु पर्ला त?’ ।

उनले मनोनयनकै दिन आफू निर्वाचित भएझै गरे । सांगठानिक अवस्था कमजोर रहेको नेकपा एकिकृत समाजवादीबाट उम्मेदवारी दिएका श्रेष्ठ लोसपा र नेकपा माओवादी केन्द्रका कार्यकर्ताको भिड्लाई छिचोल्दै मनोनयनस्थलसम्म पुगेका थिए । लोसपाका नेता जितेन्द्र सोनल र माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ आफै उम्मेदवार भएका कारण पनि उक्त दिन लोसपा र माओवादी केन्द्रका कार्यकर्ताको उपस्थिती बढी देखिन्थ्यो ।

भिडमा कांग्रेसको झण्डा केही देखिएपनि पार्टीका अगुवा नेताकार्यकर्ता भने त्यहाँ देखिएनन् । जबकी श्रेष्ठ मनोनयन दर्ता गर्न पुगेको केही समयमै कांग्रेसका दुई नेता स्वतन्त्र उम्मेदवारी दर्ता गर्न मनोनयनस्थल आईपुगे । कांग्रेसका इच्छाबहादुर वाग्ले र नारायणी रायमाझी पार्टीबाट विद्रोह गर्दै उम्मेदवारी दिन पुगेका थिए ।

होटल इच्छाका संचालक समेत रहेका वाग्ले कांग्रेसका अगुवा नेता मानिन्छन् । कांग्रेसभित्र उनको सम्मानजनक स्थान छ । गठबन्धनका कारण बारा क्षेत्र नं. ४ मा कांग्रेस उम्मेदवारविहिन बन्न पुगेपछि वाग्लेले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएका थिए । आफ्नो यो निर्णय कांग्रेसलाई जिवन्त राख्न भएको वाग्लेको दाबी छ ।

वाग्लेको उम्मेदवारीले श्रेष्ठलाई मनोनयन दर्ताकै दिन ‘पहिलो गाँसमै ढुंगा’ भनेझै हुन पुग्यो । व्यापारिक पृष्ठभूमिका वाग्लेले आफ्नो उम्मेदवारी फिर्ता नलिए अब उनि र श्रेष्ठ एउटै चुनावी मैदानमा देखिनेछन् । पार्टीको आधिकारिक उम्मेदवार नभएका कारण रुष्ट कांग्रेस कार्यकर्तालाई आफ्नो मत दिने विकल्प उम्मेदवारका रुपमा वाग्ले अगाडी आएको चर्चा सुरु भएको छ ।

कुनै समय वाग्ले र श्रेष्ठबीच निकै घनिष्ठ सम्बन्ध थियो । वाग्लेकै कारण श्रेष्ठ सिमरासंग जोडिएका हुन् । दुवै मिलेर सिमरामा व्यवसाय समेत गरेका थिए । होटल इच्छा खुल्दै गर्दा श्रेष्ठ समेत लगानीमा साझेदार थिए । तर आफ्नो लगानी झिकेका श्रेष्ठले अहिले होटल क्लासिक संचालनमा ल्याएका छन् ।

आर्थिकरुपमा सम्पन्न दुवै नेता होटलसंगै रियल स्टेटको व्यवसायमा पनि जोडिएका छन् । तर उनिहरुबीचको सम्बन्ध अहिले चिसिएको छ । सम्बन्ध चिसिएपछि छुट्टाछुट्टै फरक बाटो समातेका उनिहरुको प्रतिस्पर्धात्मक भेट मंसिर ४ गतेको निर्वाचनले गराउने पक्का छ ।

गठबन्धनको जगमा हौसिएका श्रेष्ठको चुनावी यात्रामा वाग्ले मात्रै ‘ब्रेकर’ होईनन् । यो यात्रामा श्रेष्ठले यस्ता थुप्रै ‘ब्रेकर’ को सामना गर्नुपर्ने हुन्छ, जसले उनको चुनावी यात्रा असहज बनाउन सक्छ । जिल्लामा सबैभन्दा कमजोर पार्टीका उम्मेदवार हुन् श्रेष्ठ । उनी गठबन्धनकै भरमा छन् । उनले यो क्षेत्र रोजेलगत्तै उक्त पार्टीका प्रभावशाली नेता एवम् जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा दलबलसहित एमाले फर्किएका छन् । विकको यो निर्णयले श्रेष्ठलाई हानी पुग्ने निश्चित छ । मधेस प्रदेशका निवर्तमान सांसद विकसंगै अर्की निवर्तमान सांसद सिता गुरुङलगायत जिल्ला कमिटीका थुप्रै नेताकार्यकर्ता एकैसाथ एमाले फर्किएका हुन् । यसको प्रभाव आगामी निर्वाचनमा देखिने निश्चित छ ।

श्रेष्ठका लागि अर्को चुनौती भनेको यो क्षेत्रमै कांग्रेसले उम्मेदवार नपाउनु पनि हो । जनमतका हिसाबले ठुलो दलको रुपमा रहेको कांग्रेसले यो क्षेत्रमा कतैपनि उम्मेदवारी दिन पाएन । आफू प्रतिनिधिसभाको उम्मेदवार बन्दै गर्दा श्रेष्ठले कांग्रेसको जनमतलाई सम्मान गर्न बिर्सिए । उनले सन्तुलन मिलाउन सकेनन् । कांग्रेसलाई साथमा लिन्थे भने श्रेष्ठको चुनावी यात्रा केही सहज बन्न सक्थ्यो, जुन अब सम्भव देखिदैन् ।

ठुलो जनमत हुँदाहुँदै पनि गठबन्धनभित्र सम्मानजनक स्थान नपाउदा कांग्रेस नेताकार्यकर्ता यतिबेला रुष्ट छन् । गठबन्धनकै नाममा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसले उम्मेदवारी दिन पाएन । गठबन्धनबीच भागबण्डा हुँदा उपप्रमुख पद पाएको कांग्रेस उक्त निर्वाचनमा पराजित हुन पुग्यो ।

गठबन्धनबाटै नगरप्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भईरहदा आफ्नो उम्मेदवार पराजित हुनुले पनि गठबन्धनमाथी कांग्रेसले विश्वास गर्न सकेको देखिदैन । आफू सधै भर्‍याङ भएर अन्य पार्टीलाई माथी चढाउदा यस क्षेत्रमा पार्टीको अस्तित्व समाप्त हुने डर कांग्रेसभित्र देखिएको छ । त्यसैले कांग्रेस प्रत्येक निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आतुर देखिन्छ ।

२०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा एमालेको उम्मेदवार भएर तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ त्यही नतिजा यहाँ निकाल्न चाहन्छन् । जनमतसंगै सांगठानिकरुपमा बलियो अवस्थामा रहेको एमाले यो क्षेत्रमा ठुलो शक्तिको रुपमा स्थापित छ, जुन नेता श्रेष्ठको लागी अर्को ठुलो चुनौती बन्न सक्छ । एमालेको बलियो जनमतलाई उछिनेर जित निकाल्न श्रेष्ठलाई सहज हुने देखिदैन ।

त्यसोत २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित सांसद एकबाल मियाँ एमालेबाट प्रतिस्पर्धामा छन् । लोसपा छोडेर एमाले प्रवेश गरेका मियाँ पूर्व युवा तथा खेलकुद मन्त्री हुन् । एमालेकै उम्मेदवारलाई पराजित गरेर सांसद बनेका मियाँको प्रवेशसंगै उनको पछाडी रहेको शक्ति समेत एमालेमा समाहित हुन सक्छ । जसले मियाँलाई अझै बढी बलियो बनाउने देखिन्छ । मियाँले एमालेको बलियो सांगठानिक संरचना, मधेसी र मुस्मिल समुदायको जनमतको लाभ लिन सक्छन् ।

तत्कालिन राजपाबाट चुनाव लडेका मियाँले २०७४ सालको निर्वाचनमा २२ हजार दुई सय ७५ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवारले २० हजार ६ सय सात मत पाएका थिए । त्यसैले पनि एमालेको बलियो शक्ति ढाल्न श्रेष्ठलाई सहज हुने देखिदैन ।

यसबाहेक तनँहुबाट बारा आएर चुनाव लडेका श्रेष्ठमाथी ‘टुरिस्ट उम्मेदवार’ को ट्याग समेत लगाउन थालिएको छ । यद्यपी उनी लामो समयदेखी सिमरामा व्यवसाय गर्दै आएका छन् । अस्थायीरुपमा सिमरामा बसोबास गर्ने श्रेष्ठले होटल, उद्योग र जग्गा कारोवारमा ठुलै लगानी गरेका छन् ।

श्रेष्ठको अर्को चुनौती भनेको उनि यस क्षेत्रमा परिचित अनुहार होईनन् । व्यवसायका कारण सिमरा आउने जाने गरेका श्रेष्ठ यसअघि नेता भन्दा व्यवसायीका रुपमा परिचित थिए । तनँहुबाट चुनाव जितेका कारण उनको पाँच वर्षे कार्यकाल त्यसै क्षेत्रमा बित्यो । उनि आवद्ध पार्टीभन्दा बढी जनमत रहेको कांग्रेस, माओवादी केन्द्र र लोसपालाई पछि पार्दै यस क्षेत्रबाट चुनाव लड्ने निश्चित भएपछि श्रेष्ठले आफूलाई चिनाउनका लागि पछिल्लो समय सक्रियता देखाउदै आएका छन् ।

सक्रियता देखाउने क्रममा श्रेष्ठले असोज ७ गते डिपीआर र टेण्डर नै नगरी सहरी विकास मन्त्री मेटमणी चौधरीबाट सिमरामा सडक, गढीमाई पार्क, रमौली लोसण्डा हुदै पूर्वतर्फ हुलाकी राजमार्ग जोडिने सडक गरी ४६ करोडको योजना शिलान्यास गराएका थिए, जुन आलोचनाको विषय बनेको थियो । चुनावलाई लक्षित गरेर हतारमा शिलान्यास गराएको उक्त योजना अहिले अलपत्र अवस्थामा छ । रामकुमारी झाक्री सहरी विकासमन्त्री हुँदा बारा क्षेत्र नं. ४ का सांसद एकबाल मियाँले उक्त बजेट विनियोजन गर्न लगाएका थिए । तर यस क्षेत्रका निर्वाचित सांसद मिँयालाई खबर नगरी हतारमा योजना शिलान्यास गरिएको थियो ।

यसैगरी पूर्वमन्त्री श्रेष्ठले सिमरामा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको पनि एकिकृत समाजवादीकै मन्त्री बोलाएर शिलान्यास गराए । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले अस्पतालको शिलान्यास पूर्वनिर्धारित कार्यक्रम थियो । तर पूर्वमन्त्री श्रेष्ठले नगर प्रमुखलाई अनुरोध गर्दै एकिकृत समाजवादीका नेता एवम् स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको हातबाट शिलान्यास गराए । डा. कृष्ण पौडेल नगर प्रमुख हुँदा संघीय सरकारबाट बजेट विनियोजन भएर टेण्डर प्रक्रिया पूरा भएको अस्पतालको शिलान्यास गराउन मात्रै स्वास्थ्यमन्त्री बोलाएको विषयले चर्चा पाएको थियो ।

पूर्वमन्त्री श्रेष्ठको यो गतिविधिले उनि जनतामाझ चिनिन खोजिएको बुझिन्छ । तर जताततै हावी हुन थालेपछि अन्य राजनीतिक दलले श्रेष्ठको यो गतिविधि रुचाएका छैनन् । छोटो समयमै जनतामाझ चिनिनुपर्ने बाध्यताका कारण श्रेष्ठले अहिले चुनाव लक्षित कार्यक्रम र निर्वाचन अभियानलाई तिव्रता दिएका छन् । उनको बलियो पक्ष भनेको उनि आर्थिक रुपमा सबल छन् । उनले निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्