छातापिपरास्थित त्रिवेणी स्पिनिङ उधोगमा प्रहरी र मजदुरबीच झडप, १८ जना घाइते
सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा बिहीबार प्रहरी र मजदुरबीच झडप हुदा १८ जना घाइते भएका छन् ।
दसैंको सेवा सुबिधाको विषयलाई लिएर उधोग प्रशासनविरुद्ध आन्दोलनरत मजदुर र प्रहरीबीच झडप भएको हो । उधोगले दसैंको बोनस नदिएपछि आन्दोलनरत मजदुरले उधोगका प्रमुख कार्यकारी अधिकृत अशोक शर्मासहित १३ जनालाई बुधबारदेखि कार्यकक्षमै थुनेर राखेका थिए ।
आफुहरुको मागलाई उधोग प्रशासनले वेवास्था गरेको भन्दै आक्रोशित मजदुरद्वारा कार्यकक्षमै थुनिएका कर्मचारीलाई उद्धार गर्न पुगेको प्रहरीसंग मजदुरको झडप भएको हो । झडपमा १० प्रहरी र आठ मजदुर घाइते भएका छन् ।
घाइते हुनेमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलि, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल, सहायक प्रहरी हवल्दार दीपक गुरुङ, प्रहरी जवान राजेश पुन मगर, सदाम हुसेन, रुदलकुमार यादव, रुबोधकुमार यादव र सुरेन्द्र महतो रहेका छन् ।
घाइतेमध्ये प्रहरी हवल्दार पटेल र प्रहरी जवान महतोको अवस्था गम्भीर छ । उनीहरुको गण्डक अस्पतालमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । घाइते मजदुरको अवस्थाबारे जानकारी आएको छैन ।
करीब दुई घण्टासम्म भएको झडप नियन्त्रणमा लिन प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको थियो । उधोग र प्रहरीबीच झडप हुँदा उक्त क्षेत्र तनावग्रस्त बनेको थियो ।
सेवा सुबिधाको विषयलाई लिएर उधोग प्रशासन र मजदुरबीच करीब तीन वर्षदेखि विवाद हुँदै आएको थियो ।