अस्थायी मतदाताका लागि बारामा एउटा मतदान केन्द्र राखिने
सिमराः मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतदानमा सहभागी हुने अस्थायी मतदाताका लागि बारामा एउटा मतदान केन्द्र स्थापना हुने भएको छ ।
अस्थायी मतदाताका लागि निर्वाचन आयोगले देशभर एक सय ४१ मतदान केन्द्र स्विकृत गर्ने क्रममा बारामा एउटा राख्न लागेको हो । निर्वाचन आयोगले स्विकृत गरेअनुसार कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा समानुपातिकतर्फको मतदान केन्द्र रहनेछ ।
उक्त केन्द्रबाट अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखएिका कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय भोगिरहेका बाहेक कारागारमा रहेका कैदी तथा बन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । आयोगबाट मतदान केन्द्रमा खटाइएका कर्मचारी र सुरक्षाकर्मीले भने खटिएकै केन्द्रबाट मतदान गर्न सक्नेछन् ।
अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा अनिवार्य नाम समावेश भएको हुनुपर्नेछ । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्यवनमा आउन लागेको हो ।