मतदानको दिन यि सवारी साधनले अनुमति लिन नपर्ने


eShilalekh

२७ कार्तिक २०७९, आईतवार १०:०५

सिमराः मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन अत्यावश्यक सवारी साधनका लागि अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक सेवाका सवारी साधनका लागि अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गर्न लागेको हो ।

आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला, दुध, तरकारी, विद्युत, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि अनुमति लिन पर्दैन् ।

यसैगरी सूचना तथा प्रसारण विभाग, प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास, प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्रवाहक संचारकर्मीले प्रयोग गर्ने सवारी साधन निर्वाध रूपमा सञ्चालन हुने पाउनेछन् ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवम् कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधनका लागि पास नचाहिने आयोगले जनाएको छ ।

सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन मतदानका दिन संचालन हुन पाउनेछन् । आयोगले अत्यावश्यक सेवाका सवारी साधनबाट मतदाता ओसारपसार गर्ने कार्य गर्न नपाईने जनाएको छ ।

यता प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको आयोगले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएका सवारी साधन मात्रै उम्मेदवार वा प्रतिनिधिले संचालन गर्न पाउनेछन् ।

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

अनुमती नलिई संचालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने र मतदान सम्पन्न भएपछि मात्रै फिर्ता गरिने आयोगले सूचना आयोगले जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्