बाराको १४५ मतदान स्थल अति संवेदनशील, यस्तो छ सुरक्षा संयन्त्र (सूचिसहित)
सिमराः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुरक्षाको दृष्टिकोणले बाराका एक सय ४५ मतदान स्थललाई अति संवेदनशीलमा राखिएको छ । जिल्लाको कुल तीन सय पाँच स्थलमध्ये एक सय ४५ स्थल अति संवेदनशीलको सूचिमा राखिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अतिसंवेदनशील बाहेक एक सय आठ मतदान स्थल संवेदनशील र ५२ स्थल सामान्य अवस्थामा छन् । शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थललाई वर्गिकरण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निर्वाचनलाई शान्तिपूर्ण र विवादरहित ढंगबाट सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरेर ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए । सुरक्षा व्यवस्था अन्तर्गत नेपाल प्रहरी र म्यादी प्रहरीले मतदान केन्द्रको भित्री सुरक्षा हेर्नेछ भने सशस्त्र प्रहरी र नेपाली सेना मतदान स्थल बाहिर परिचालित हुनेछन् ।
बाराका प्रहरी प्रवक्ता राजेश थापाले सुरक्षालाई मध्यजनर गर्दै प्रहरी परिचालन हुने बताए । उनका अनुसार अतिसंवेदनशील स्थलमा प्रहरी तीन र म्यादी ९ जना खटिनेछन् । यसैगरी संवेदनशील मतदान स्थलमा प्रहरी तीन र म्यादी ६ जना खटाईनेछ । सामान्य मतदान स्थलमा भने प्रहरी तीन र म्यादी पाँच जना खटाउने व्यवस्था मिलाइएको प्रवक्ता थापाले बताए ।
निर्वाचनका लागि जिल्लाभित्र एक हजार पाँच सय १९ नेपाल प्रहरी र तीन हजार एक सय ४४ म्यादी प्रहरी खटिने भएका छन् । मतदानलाई भयरहित र सुरक्षित बनाउन गाँउपालिका र नगरपालिकामा दुई वटा मोबाईल टोली खटिने तथा उपमहानगरपालिकामा तीन वटा मोबाईल टोली खटिने प्रवक्ता थापाले जानकारी दिएका छन् । निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सिमा नाकामा मोबाईल टोली परिचालित हुने थापाले बताए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाराको चार वटा निर्वाचन क्षेत्रबाट चार लाख ३३ हजार पाँच सय चार मतदाता सहभागी हुँदैछन् ।
क्षेत्रगतरुपमा यस्तो छ मतदाता र मतदानस्थलको विवरणः
बारा क्षेत्र नं. १
कुल मतदाताः ११९३७५
पुरुषः ६३४६४
महिलाः ५५९०६
अन्यः ५
मतदान स्थलः ८६
मतदान केन्द्रः १५५
बारा क्षेत्र नं. २
कुल मतदाताः १०५०११
पुरुषः ५८७४२
महिलाः ४६२७९
मतदान स्थलः ८२
मतदान केन्द्रः १३६
बारा क्षेत्र नं. ३
कुल मतदाताः १०३१४८
पुरुषः ५६५२२
महिलाः ४६६२५
अन्यः १
मतदान स्थलः ७६
मतदान केन्द्रः १३२
बारा क्षेत्र नं. ४
कुल मतदाताः १०५९७०
पुरुषः ५८१५२
महिलाः ४७८१२
अन्यः ६
मतदान स्थलः ६१
मतदान केन्द्रः १३२