नक्कली नोटको कारोवारमा सक्रिय पॉच पक्राउ


eShilalekh

३० भाद्र २०७८, बुधबार १४:३४


सिमराः नक्कली नोटको कारोवारमा सक्रिया एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको स्पेसल टास्क फोर्स (एसटिएफ) ले निजगढ र रौतहटबाट गिरोहका पाच जनालाई पक्राउ गरेको हो ।


निजगढस्थित तारा ईन होटलमा बसेका तीन र उनिहरुको बयानका आधारमा प्रहरीले रौतहटको गुजरा नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुलाई पक्राउ गर्न शनिवार दिनभर अप्रेशन चलाएको थियो ।


पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ९ का २४ वर्षीय सागर शुक्ला, बिश्रामपुर गाउँपालिका ५ का २५ वर्षीय राजु कुशवाहा र करैयामाई गाउँपालिका ५ का ३६ वर्षीय विशेश्वर प्रसाद चौधरी रहेका छन् । उनिहरुको बयानका आधारमा प्रहरीले रौतहटको गुजरा नगरपालिका ३ बलुवा टोलका २४ वर्षीय सुनिल कुमार राम र ३६ वर्षीय रवीन्द्रकुमार चौधरीलाई नियन्त्रणमा लिएको थियो ।


उनीहरुको साथबाट प्रहरीले नेपाली एक हजारको नक्कली नोट २५ थान, एक हजारकै सक्कली नोट ३९ थान र नक्कली एक हजारको नोट छाप्न तयारी अवस्थामा राखिएको नौ हजार तीन सय पिस कागजको गढ्ढी बरामद गरेको छ । उनिहरुले प्रयोग गरेको बा१४च ९३८२ नम्बरको स्कार्पियो गाडी, बा९१प ७४३५ र प्रदेश २.०३.००१प ४२६५ नेपाली नम्बर प्लेटको दुई र बिआर ०५ क्यु ४६१० नम्बरको भारतिय मोटरसाईकल एक गरी तीन वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार मेसिनबाट नक्कली नोट छापेर सक्कली नोटको गढ्ढीमा राखेर बजारमा विक्री गर्न उक्त गिरोह सक्रिय थियो । चाडपर्व नजिकिदै गएका बेला निजगढमा बसेर गिरोह संचालन गरिरहेका बेला प्रहरीको टोलीले गोप्य अप्रेशन संचालन गरेर उनिहरुलाई पक्राउ गर्न सफल भएको हो ।


पक्राउ परेका उनिहरुलाई बारा प्रहरीले मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दा चलाई कारवाही प्रक्रिया सुरु गरेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । पक्राउ परेका उनिहरुलाई प्रहरीले नोटसहित सार्वजनिक समेत गरेको थियो ।


पत्रकार माथी दुव्र्यवहार, भिडियो डिलिट गर्न लगाईयो


निजगढस्थित तारा ईन होटलमा गरिएको प्रहरी अप्रेशनको समाचार संकलन गर्न पुगेकी न्यु २४ टेलिभिजनकी पत्रकार लक्ष्मी पाण्डेलाई प्रहरीले दुव्र्यवहार गरेको छन् ।


होटलबाट कारोवारीलाई पक्राउ गरी रौतहटतर्फ लादै गरेको दृश्य कैद गरेकी उनलाई प्रहरीले दुव्र्यवहार गर्दै सो भिडियो डिलिट गर्न लगाएको हो । पाण्डेको मोबाईलमा खिचिएको भिडियो प्रहरीले जवरजस्ती डिलिट गर्न लगाएको थियो ।

प्रहरीले पत्रकारमाथी गरेको दुव्र्यवहारको पत्रकार संगठनले भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश कमिटी, नेपाल पत्रकार महासंघ बारा र प्रेस चौतारी नेपाल बाराले प्रहरीबाट भएको उक्त दुव्र्यवहारको घटनाको विरोध गर्दै दोषीमाथी कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्