निजगढका वडाध्यक्ष श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमती
सिमराः जबरजस्ती करणीको मुद्धामा जिल्ला अदालत बाराले निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई समय दिएको छ । म्याद थपका लागि निजगढस्थित इलाका प्रहरी कार्यालय श्रेष्ठलाई सोमबार जिल्ला अदालत पेश गरेको थियो ।
एक १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका वडाध्यक्ष श्रेष्ठले आइतवार राती आफै इलाका प्रहरी कार्यालय निजगढमा आत्मसमर्पण गरेका हुन् । श्रेष्ठले आत्मसमर्पण गरेपछि प्रहरीले कारवाही प्रक्रिया सुरु गरेको हो ।
श्रेष्ठविरुद्ध किशोरीको परिवारले असोज २५ गते किटानी जाहेरी दिएका थिए । वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा किशोरीमाथी जबरजस्ती करणी गरेको आरोप छ ।
किशोरीको परिवारले जाहेरी दिएपछि श्रेष्ठ फरार थिए । श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।