स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिडेका माझीको मृत्यु, दुई महिला घाईते
सिमराः स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका एक पुरुषको मृत्यु भएको छ भने दुई महिला घाईते भएका छन् । पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान भएको दुर्घटना भएको हो ।
निजगढबाट पथलैयातर्फ आउदै गरेको ग२च ४४१३ नम्बरको स्कोरपियोले प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा ठक्कर दिदा टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो । स्कोरपियोले एउटै दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडीबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाईते भएका छन् । घाईतेलाई सिमरास्थित अल्पाईन अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको छ ।
मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनिहरुलाई बिहानको समयमा तिब्र गतिमा आएको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ ठक्कर दिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनिहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउदै थिए । स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेयर र उपमेयरले गरे घाइतेको उद्धार
उक्त दुर्घटनाका घाईतेलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धार गरेका थिए ।
सिमराबाट जनकपुरतर्फ जाने क्रममा घटनास्थल पुगेका प्रमुख र उपप्रमुखले आफू सवार गाडीमा घाईतेको उद्धार गरेका हुन् । नगर प्रमुख र उपप्रमुख सवार गाडीले घाईतेलाई सिमरास्थित अल्पाईन अस्पताल ल्याएको थियो ।