रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषसंग जोडिनुको विकल्प छैनः सहप्रवक्ता रेग्मी


eShilalekh

२९ पुष २०७९, शुक्रबार २०:४२

सिमराः श्रमिकको हितका निम्ति स्थापित सामाजिक सुरक्षा कोषले शुक्रवार सिमरामा बारा र पर्साका संचारकर्मीसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोष स्थापनाको उदेश्य र यसबाट श्रमिकले लिन सक्ने लाभका विषयमा जानकारी गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित अन्तरक्रियामा कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष स्थापनाको उदेश्य र यसबाट श्रमिकले प्राप्त गर्ने सेवाका विषयमा संचारकर्मीलाई जानकारी गराएका थिए । सहप्रवक्ता रेग्मीले कोषको स्थापना भर्खरै भएपनि यसले श्रमिकको हितका निम्ति ल्याएका सेवा अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

कोषको महत्वका बारेमा सबै श्रमिकले बुझ्न जरुरी रहेको भन्दै रेग्मीले रोजगारदाता कम्पनीले पनि अब सामाजिक सुरक्षा कोषसंग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । ऐनमै व्यवस्था भएका कारण रोजगारदाता कम्पनीले कोषसंग सहकार्य गर्न जरुरी रहेको रेग्मीको भनाई थियो ।

निजी क्षेत्रको रोजगारदाता कम्पनीलाई श्रम ऐनको दायराभित्र ल्याउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोषको अवधारणा ल्याएको हो । सामाजिक सुरक्षा कोष २०७६ साउन १ गतेदेखि लागु भएको थियो ।

श्रमिकको योगदानमा आधारित रहेर कोषले सेवा प्रवाह गर्नेछ । रोजगारदाता कम्पनीमा कार्यरत श्रमिकले आफ्नो मासिक सेवासुविधाबापत प्राप्त हुने रकमका आधारमा कोषको सेवा प्राप्त गर्न सक्नेछन् । ‘श्रमिकको आयको निरन्तरता’ नै आफ्नो मुख्य उदेश्यको रुपमा अघि सारेको कोषले श्रमिक र श्रमिकको परिवार हितका लागि विभिन्न योजना अघि सारेको छ ।

‘सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५’ बनाएर काम गरिरहेको कोषमा हाल करिब चार लाख भन्दा बढी श्रमिक आवद्ध छन् । कोषले हालसम्म २८ अर्ब योगदान संकलन गरिसकेको छ भने दुई अर्ब भन्दा बढी रकम मागदाबीमा खर्च गरिसकेको छ ।

कोषसंग आवद्ध हुने श्रमिकले दुर्घटना, औषधउपचार, शारीरिक अशक्त, बृद्धावस्था, पेन्सन, श्रमिकको सन्तानको शिक्षा, श्रमिक परिवारलाई सुविधा दिने लगायत विभिन्न योजनामा केन्द्रीत रहेर काम गरिरहेको सहप्रवक्ता रेग्मीले बताएका छन् । कोषले प्रवाह गर्ने सेवाका विषयमा श्रमिकलाई जानकारी गराउन आवश्यक रहेको रेग्मीको भनाई थियो ।

कोषले मधेस प्रदेशको श्रमिकलाई सेवा प्रदान गर्न सिमरामा कार्यालय स्थापना गरिसकेको छ । सिमरामा केही महिनाअघि कार्यालय स्थापना गरेको कोषमा १७ हजार पाँच सय रोजगारदाता कम्पनी आवद्ध भइसकेका छन् ।

सामाजिक सुरक्षा कोष सिमरा शाखाका प्रमुख ऋषिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक निर्देशक केशवराज गौतमले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन कोषका प्रशासकीय अधिकृत दीपक सेढाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्