यस्तो छ रक्सौल–अमलेखगंज रेलमार्गको जग्गा सम्बन्धमा अख्तियारले जीतपुरसिमरालाई लेखेको पत्रः
सिमराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्सौल–अमलेखगंज रेलमार्ग अन्तर्गत तत्कालिन नेपाल गभरर्मेन्ट रेल्वेको जग्गाको सम्बन्धमा सुझाव पेश गर्न जीतपुसिमरा उपमहानगरपालिकालाई पत्राचार गरेको छ ।
संरक्षण अभावका कारण रेल्वेको जग्गा अतिक्रमण हुँदै व्यक्ति र उद्योगले कब्जा गरेको सूचना प्राप्त भएको भन्दै आयोगले जीतपुरसिमरासहित जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर पत्र पठाएको हो ।
आयोगले पठाएको पत्रमा वीरगन्जको पावसहाउस देखि पथलैयासम्मको २२ किलोमिटर अन्तर्गत पर्ने ६४ फिट फराकिलो जग्गा व्यक्ति र विभिन्न उद्योगले कब्जा गरेको सूचना प्राप्त भएकाले जग्गा संरक्षण गर्न र सो सम्बन्धमा छानविन गरी सुझाव पठाउन आग्रह गरेको छ ।
तत्कालिन नेपाल गभरर्मेन्टको नाममा रहेको एक हजार सात सय ४९ विगाह जमिन नापी कार्यालयबाट प्रमाणित गरेर व्यक्तिगत बनाएको भन्ने सूचना प्राप्त भएको आयोगले पठाएको पत्रमा उल्लेख छ । आयोगले पत्रमा ‘तत्कालिन नेपाल गभरर्मेन्ट रेल्वेलगायत सरकारी जग्गाहरु संरक्षण गरी अतिक्रमण हुन नदिन तहाँ मन्त्रालयहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) बमोजिम सुझाव लेखि पठाउने’ भनेको छ ।
आयोगले तत्कालिन नेपाल सरकारले सन् १९२७ जुन १९ मा तत्कालिन बेलायती सरकारसंग रक्सौलमा खरिद गरेको १६ बिगाह एक कठ्ठा चार धुर जग्गा समेत अतिक्रमणमा परेको भन्ने सूचना प्राप्त भएकाले सोको विषयमा समेत छानविन गरी सुझाव पठाउन पत्रमार्फत ध्यानाकर्षण गराएको छ ।