शैक्षिक विकास र पूर्वाधार प्राथमिकतामा रहनेछः मन्त्री यादव


eShilalekh

२९ माघ २०७९, आईतवार १०:५९

सिमराः मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले शैक्षिक क्षेत्रको विकास पहिलो प्राथमिकतामा रहने बताएका छन् । मन्त्री यादवले शिक्षाको विकास नभएसम्म अन्य क्षेत्रको विकासको कल्पना गर्न नसकिने बताए ।

जीतपुरसिमरा १ पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सवका अवसरमा आयोजित स्वर्ण जयन्ती समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीयतालाई बलियो बनाउन र स्थापित गर्न पनि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

‘सामाजिक रुपान्तरण र समृद्धिका लागि शिक्षाको विकास जरुरी छ’ मन्त्री यादवले भने ‘त्यसले मधेस सरकारको प्राथमिकता शिक्षा क्षेत्रमा हुनेछ ।’ समाज शिक्षित र चेतनशिल भएपछि मात्रै समृद्धि र परिवर्तनको सम्भावना रहने मन्त्री यादवले बताए ।
मन्त्री यादवले विद्यालयको पूर्वाधार विकास र प्राविधिक शिक्षाका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सम्बोधन अघि मन्त्री यादवले ५०औं वार्षिकोत्सवका अवसर निर्माण गरिएको स्तम्भको अनावरण गरेका थिए । यसैगरी कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले विद्यालयको पूर्वाधार विकासका लागि आफूले समेत सहयोग गर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मञ्जु थापामगर, पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, सशस्त्र प्रहरी उपरीक्षक नानीराम हुमागाईं, शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, ३ का वडाध्यक्ष ताराबहादुर कार्की, ७ का वडाध्यक्ष सुनिल गुप्ता, २१ का वडाध्यक्ष सुभास श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जीतपुरसिमरा २ का वडाध्यक्ष श्रेष्ठले आफ्नो एक महिनाको सेवासुविधा विद्यालयलाई उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त कार्यक्रममा विद्यालयले व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्व शिक्षक, सहयोगी संघसंस्था, वर्तमान व्यवस्थापन समिति र शिक्षक, स्वर्ण जयन्ती मूल समारोह समिति, उपसमितिका संयोजकलगायतलाई सम्मान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आलेमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यानाध्यापक शम्भु मण्डलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक रुवन थापा र संगिता भण्डारीले गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित छात्रछात्राले सांगीतिक प्रस्तुति राखेका थिए । स्वर्ण जयन्तीको अवसरमा माघ २२ गतेदेखि साताव्यापी कार्यक्रम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्