अनेरास्ववियुको केन्द्रीय सदस्यमा बाराबाट प्याकुरेल र तिमिल्सिना
सिमराः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्यमा बाराबाट दुई जना निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न २३औं राष्ट्रिय महाधिवेशनबाट मनिष प्याकुरेल र लक्ष्मी तिमिल्सिना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्यमा निर्विरोध भएका प्याकुरेल जीतपुरसिमरा १ र तिमिल्सिना जीतपुरसिमरा ३ निवासी हुन् । प्याकुरेल यसअघि पनि अनेरास्ववियुको केन्द्रीय सदस्य थिए ।
महाधिवेशनले समिक बडालको नेतृत्वमा एक सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । केन्द्रीय अध्यक्षमा बडाल र आरसी लामिछानेबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षका लागि भएको निर्वाचनमा बडाल नौ सय ६२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने लामिछानेले तीन सय ५६ मत पाएका थिए ।
निर्वाचनबाट केन्द्रीय उपाध्यक्षमा गोबिन्द गिरी, नारायण घर्ती, धर्म गिरी, मर्यादा बिष्ट, महासचिव नरेश रोकाया, सचिवमा सुजन कडरिया, प्रकाश पौडेल, आशिर्बाद सुवेदी, दीपेश प्रसाईं, संजीब धिताल, दीपक धामी, मनोज ताम्लिङ, अंजना शिवाकोटी, विनिता काफ्ले, आरती भट्टराई, कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् ।
यसैगरी निर्वाचन आयोगको संयोजकमा सत्य शाही, लेखा आयोगको संयोजकमा सुनिल तिमिल्सिना र अनुशासन आयोगको संयोजकमा शोभा सापकोटा निर्वाचित भएको अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य त्रिलोक बिक्रम शाहले जानकारी दिएका छन् ।