एमालेको ‘मिसन ग्रासरुट’ सुरु, बाराका नेता कहाँ खटिए?
सिमराः नेकपा एमालेले संगठन विस्तार र सुदृढीकरणका लागी ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । केन्द्रीय सचिवालयको निर्णय अनुसार एमालेले शुक्रवारदेखि सात वटै प्रदेशमा एकसाथ अभियान सुरु गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य संयोजक रहने अभियान फाल्गुन र चैत महिनासम्म संचालन हुनेछ । ग्रासरुट अभियानका लागि एमालेले बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरणको जिम्मेवारी तोक्दै केन्द्रीय प्रतिनिधि सबै प्रदेशमा खटाएको छ ।
अभियानका लागि केन्द्रबाट तोकिएका प्रतिनिधिलाई सदस्य विस्तार, प्रशिक्षणलगायत ११ वटा जिम्मेवारी दिइएको छ । उक्त कार्य गर्ने गरी केन्द्रीय प्रतिनिधिलाई स्थानीय तह तोकेर जिम्मेवारी दिइएको छ ।
बाराका नेता कहाँ खटिए?
मिसन ग्रासरुट अभियानका लागी केन्द्रीय प्रतिनिधिका रुपमा बाराका तीन पोलिटव्युरो र चार केन्द्रीय सदस्यसहित आठ जनालाई मधेस प्रदेशको विभिन्न स्थानीय तहमा खटाइएको छ ।
मधेस प्रदेशसमा संचालन हुने अभियानका लागि एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल अभिमुखीकरण, प्रदेश इन्चार्ज रघुवीर महासेठ अनुगमन संयोजक, स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेलसहित केन्द्रीय प्रतिनिधिका रुपमा बाराका नेतालाई जिम्मेवारी दिइएको हो ।
ज्वालाकुमारी साह
कृषी मन्त्री समेत रहेकी एमाले पोलिटव्युरो सदस्य ज्वाला कुमारी साहलाई सलार्हको चार स्थानीय तहको जिम्मेवारी दिइएको छ । साह बागमती नगरपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र बसवरिया गाउँपालिकामा संचालन हुने अभियानमा सहभागी हुनेछिन् ।
पुरुषोत्तम पौडेल
पूर्व मन्त्री एवम् एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल रौतहट खटिएका छन् । उनलाई गौर नगरपालिका, गरुडा नगरपालिका, माधव नारायण नगरपालिका, राजपुर नगरपालिका र गढीमाई नगरपालिकामा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।
अच्युत मैनाली
प्रतिनिधिसभा सदस्य एवम् एमाले पोलिटव्युरो सदस्य अच्युत मैनालीलाई पर्सा जिल्लाको दुई स्थानीय तहमा खटाइएको छ । मैनाली वीरगन्ज महानगरपालिका र पर्सागढी नगरपालिकामा संचालन हुने अभियानमा सहभागी हुनेछन् ।
महम्मद समीर
मधेस प्रदेश सांसद एवम् एमाले केन्द्रीय सदस्य महम्मद समीर पर्सा जिल्लाको चार वटा स्थानीय तहमा खटिएका छन् । उनी बिन्दाबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा खटिनेछन् ।
मञ्जुकुमारी थापा मगर
मधेस प्रदेश सांसद एवम् एमाले केन्द्रीय सदस्य मञ्जुकमारी थापा मगर रौतहट खटिएकी छिन् । उनलाई कल्पनाकुमारी कटुवालसंगै बृन्दाबन नगरपालिका, बौधीमाई नगरपालिका, देवाही गोनाही नगरपालिका र चन्द्रपुर नगरपालिकामा खटाइएको छ ।
बलवीर चौधरी
एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला इन्चार्ज बलवीर चौधरी सर्लाही खटिएका छन् । उनले बिष्णु गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, हरिपुर्वा नगरपालिका र कविलासी नगरपालिकामा हुने अभियानमा सहभागिता जनाउनेछन् ।
सरस्वतीदेवी चौधरी
एमाले केन्द्रीय सदस्य एवम् बारा सहइन्चार्ज सरस्वतीदेवी चौधरी पर्सा जिल्ला खटिएकी छिन् । उनी पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकामा संचालन हुने ग्रासरुट अभियानमा सहभागी हुनेछिन् ।
सुन्दर विक
मधेस प्रदेशका पूर्व सांसद एवम् एमाले मधेस प्रदेश कमिटी सदस्य सुन्दर विकलाई सर्लाही खटाइएको छ । विकलाई शिला यादवसंगै सर्लाहीको बरथवा नगरपालिका, चक्रघट्टा गाउँपालिका, हरिवन नगरपालिका र गोडैटा नगरपालिकाको जिम्मेवारी दिइएको छ ।
बारामा को खटिए?
यसैगरी बाराका नेतालाई अन्यत्र परिचालन गरेको एमालेले बारामा भने अन्य केन्द्रीय प्रतिनिधि खटाएको छ । बाराको १६ वटा स्थानीय तहमा ६ जना नेता खटिएका छन् ।
प्रतिनिधिसभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य राजकुमार गुप्तालाई निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका र सिम्रौनगढ नगरपालिकामा खटाइएको छ । एमाले पर्साका नेता गुप्ताले चार वटा स्थानीय तहमा अभियान संचालन गर्नेछन् ।
यस्तै एमाले केन्द्रीय सदस्य अरविन्दकुमार सिंहलाई एक उपमहानगर र तीन गाउँपालिकाको जिम्मेवारी दिइएको छ । पर्साका एमाले नेता सिंहले जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र बिश्रामपुर गाउँपालिकाको जिम्मेवारी पाएका छन् ।
यसैगरी कलैया उपमहानगरपालिकासहित अन्य तीन स्थानीय तहमा रञ्जना सरकार र रामासिंह यादवलाई खटाइएको छ । उनिहरुले कलैयासहित फेटा गाउँपालिका, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकामा अभियान संचालन गर्नेछन् ।
यस्तै पचरौता नगरपालिकासहित अन्य तीन गाउँपालिकामा सविता यादव र फैजल हकलाई तोकिएको छ । उनिहरुले पचरौतासहित देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकामा संचालन हुने अभियानमा सहभागिता जनाउनेछन् ।
मधेस प्रदेशको एक सय ३६ स्थानीय तहमा एमालेले ४१ जना केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो ।