कलैयामा टी-२० मेयर कप सुरु, मकवानपुर र कलैयाले गरे बिजयी सुरुवात


eShilalekh

९ फाल्गुन २०७९, मंगलवार २०:३२

सिमराः कलैयामा मंगलवारदेखि टी-२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । कलैया क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा मकवानपुर र आयोजक बिजयी भएका छन् ।

सिद्धेश्वर खेल मैदानमा भएको उद्घाटन खेलमा मकवानपुरले भारतको बेतियालाई ५२ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ६४ रन जोडेको थियो ।

मकवानपुरका लागी सुमन सुनारले दुई छक्का र तीन चौकाको मद्यतबाट ३४ बलमा ४२ रन बनाए । बेतियाका बलर सुर्य मोहनको बलमा एलबिडब्लु हुँदै सुनार पेभेलियन फर्किदा मकवानपुरका अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।

अतिरिक्त २० रन पाएको मकवानपुरले बेतियासामु एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेतिया १७.५ ओभरमा एक सय १२ रनमै समेटियो । बेतियाविरुद्ध मकवानपुरका शुभ कंसकार र आशिष पोखरेलले समान चार–चार विकेट लिए भने रिजन ढकालले दुई विकेट आफ्नो नाममा लेखाए । तीन ओभरमा एक मेडनसहित ११ रन खर्चिएर चार विकेट लिएका मकवानपुरका आशिष म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा आयोजक कलैया क्रिकेट क्लबले चितवनमाथी आठ विकेटको जित दर्ता गर्यो । टस जितेर बलिङ रोजेको कलैयाले चितवनलाई एक सय ३७ रनमा रोक्न सफल भयो । चितवनले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ३८ रनको लक्ष्य प्रस्तुत गर्यो ।

चितवनका लागी सनम बुढाथोकीले ४५ रन बनाउदा कमल परियारले २९ र गौतम केसीले अविजित २७ रन बनाए । बलिङतर्फ कलैयाका लागी त्रितराज दासले चार र बसिर अहमदले दुई विकेट लिए । दासले चार ओभरमा एक मेडन दिदै १५ रन खर्चिएर चार विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आक्रामक देखिएको कलैयाले १३.३ ओभरमै जित निकाल्यो । बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका कलैयाका त्रितराज दासले अविजित ७९ रन बनाउदै जित सहज बनाए । ४० बलमा नौ छक्का र तीन चौका प्रहार गरेका दास खेलको म्यान अफ दि म्याच समेत घोषित भए । कलैयाका अनिल कुमार साहले ३२ रन जोडे ।

प्रतियोगिता अन्तर्गत बुधवार पहिलो खेलमा चितवन र मोतिहारी भिड्नेछन् भने दोस्रो खेल वीरगन्ज र मकवानपुरबीच हुनेछ । यसअघि प्रतियोगिताको उद्घाटन कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले गरेका थिए । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाको बलिङमा ब्याटिङ गर्दै साहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । कलैया, वीरगन्ज, मकवानपुर, चितवन, भारतको बेतिया र मोतिहारी गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले ६० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्