कलैया टी–२० मेयर कप क्रिकेटः मोतिहारी र मकवानपुर बिजयी
सिमराः कलैयामा जारी टी–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मकवानपुर र भारतको मोतिहारी बिजयी भएका छन् । मकवानपुरले वीरगन्ज र मोतिहारीले चितवनमाथी जित हात पारेको हो ।
सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेलमा मोतिहारीले चितवनमाथी सात विकेटको फराकिलो जित हात पार्यो । टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै एक सय ३३ रन जोडेको थियो ।
चितवनका लागी बिकल गुप्ताले ३०, कुमार परियारले २४, दीपेश श्रेष्ठले २२ र गौतम केसीले २१ रन जोडे । मोतिहारीका सकिबुल गनी र दिनेश कुमारले समान दुई–दुई विकेट लिए ।
चितवनले पस्केको एक सय ३४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मोतिहारीले १३.५ ओभरमै जित निकाल्यो । उसका लागि सकिबुल गनीले ४० रन बनाउदा सोनु अंसारीले अविजित ४४ र अजल अंसारीले ३१ रन बनाए । चितवनका दीपेश श्रेष्ठ, क्रिजन गुरुङ र डेनिस इकबालले समान एक–एक विकेट लिए । मोतिहारीका सकिबुल गनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी दोस्रो खेलमा मकवानपुले वीरगन्जमाथी १६ रनको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय ४२ रन बनाएको थियो ।
मकवानपुरका सक्षम बस्ताकोटीले २९ र रक्षक सिंखडाले २५ रन जोडे । बलिङतर्फ वीरगन्जका सैफुल्ला अंसारी र रंजित कुमारले समान दुई–दुई विकेट लिए ।
एक सय ४३ रनको लक्ष्य पछ्याएको वीरगन्ज १९.४ ओभरमा अलआउट भयो । वीरगन्जले एक सय २६ रन बनाउन सक्यो । वीरगन्जका हासिम अंसारीले ३५, सन्तोष कार्कीले २६ र अशब हुसेनले २२ रन बनाउनु बाहेक अन्य खेलाडी चल्न सकेनन् ।
बलिङतर्फ मकवानपुरका रामनरेश गिरीले तीन विकेट लिदा रिजन ढकाल र शुभ कंसकारले समान दुई–दुई विकेट आफ्नो नाममा लेखाए । खेलको म्यान अफ दि म्याच मकवानपुरका रामनरेश गिरी घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहिवार पहिलो खेलमा आयोजक कलैया क्रिकेट क्लब र मोतिहारीबीच खेल हुनेछ भने दोस्रो खेलमा वीरगन्ज र भारतको बेतिया भिड्नेछन् ।