एमालेको मिसन ग्रासरुटः केन्द्रीय प्रतिनिधिद्धारा जनवर्गीय संगठनसंग छलफल
कलैयाः संगठन बिस्तार र सुदृढीकरणका लागी नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अन्तर्गत बारामा खटिएका केन्द्रीय प्रतिनिधिले जनवर्गीय संगठनसंग छलफल गरेको छ ।
ग्रासरुट अभियानलाई प्रभावकारी बनाउनका लागी जनवर्गीय संगठनको भूमिका महत्वपूर्ण रहने भन्दै केन्द्रीय प्रतिनिधि अरविन्द सिंहले छलफल गरेका हुन् । एमाले केन्द्रीय सदस्य सिंह जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाँउपालिका, प्रसौनी गाँउपालिका र बिश्रामपुर गाँउपालिकामा खटिएका छन् ।
आफू खटिएको पालिकासंगै जिल्ला सबै स्थानीय तहमा खटिने केन्द्रीय प्रतिनिधिलाई ग्रासरुट अभियान सफल बनाउन जनवर्गीय संगठनलाई नेता सिंहले आग्रह गरेका थिए । अभियान अन्तर्गत फाल्गुन २० गतेभित्र सबै जनवर्गीय संगठनको जिल्ला बैठक बोलाउने र ग्रासरुटका विषयमा छलफल गर्ने निर्णय भएको सिंहले बताए ।
बैठकमा कृषी मन्त्री एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह, प्रतिनिधिसभा सदस्य एवम् एमाले पोलिटव्युरो सदस्य अच्युत मैनाली, एमाले बारा सचिव अध्यानन्द पाण्डेलगायत २३ वटा जनवर्गीय संगठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको उपस्थिती रहेको थियो ।
छलफलमा एमाले पोलिटव्युरो सदस्यद्धय मैनाली र साहले ग्रासरुट अभियानलाई सफल बनाउनका निम्ति जनवर्गीय संगठनलाई प्रभावकारी ढंगले परिचालन गर्न आग्रह गरेका थिए ।