भट्टराईको नेतृत्वमा युवा संघको अधिवेशन आयोजक कमिटी गठन
सिमराः नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल बाराको प्रथम जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले राजकुमार भट्टराईको नेतृत्वमा ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा हरिओम साह, सचिव पुरुषोत्तम लामा, सहसचिव पुनिता राम, कोषाध्यक्ष सोममाया तामाङलगायत रहेका छन् । चैत्र २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी आयोजक कमिटी गठन गरेको हो ।
यसैगरी अधिवेशनले बाराको चार निर्वाचन क्षेत्रमा सहजीकरण गर्नका लागी केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बारा क्षेत्र नं. १ का लागी अनिल भण्डारी, क्षेत्र नं. २ का लागी मनोज गुप्ता, क्षेत्र नं. ३ का लागी जिल्ला अध्यक्ष भट्टराई र क्षेत्र नं. ४ का लागी गणेश रिजाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
युवा संघका उपाध्यक्ष एवं मधेस प्रदेश कमिटीका इन्चार्ज निरञ्जन झाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु श्रीप्रसाद पासवान, विभा कार्की, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, सचिवालय सदस्य एवम् युवा इन्चार्ज ध्रुव यादव, युवा संघका स्थायी कमिटी सदस्य एवम्ं पार्टी सचिवालय सदस्य सुभाष साह, प्रदेश सचिव गणेश रिजाल, मधेस प्रदेशका सांसद लक्ष्मी ठाकुर, अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य मालती कुशवाहालगायतको उपस्थिती रहेको थियो ।
यसैगरी अखिल नेपाल महिला संघ (समाजवादी) को बैठक कलैयामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष गौरी ढकालको अध्यक्षतामा बसेको बैठकले फागुन १९ गते कलैयामा अनेमसंघ समाजवादीको जिल्ला भेला, अन्तर्राष्ट्रिय महिला दिवस तथा होलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।