ट्राफिक नियम सिक्दै सशस्त्र प्रहरी, क्याम्पमै सचेतना कक्षा


eShilalekh

१९ फाल्गुन २०७९, शुक्रबार १८:५९

सिमराः सशस्त्र प्रहरीका अधिकृत र जवानलाई लक्षित गरी ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सुरु गरेको छ । दुर्घटना न्युनिकरण, सडक सुरक्षा र सवारी व्यवस्थापनका लागी पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सचेतना कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीले सशस्त्र प्रहरीको क्याम्पमै पुगेर सचेतना कक्षा संचालन गर्न थालेको छ । राजमार्गमा खटिने सशस्त्र प्रहरी समेत ट्राफिक नियमको विषयमा जानकार हुनुपर्ने भन्दै कार्यालयले सशस्त्र प्रहरी लक्षित सचेतना अभियान थालेको हो ।

कार्यालयले हालसम्म पर्सा र बाराको दुई स्थानमा कक्षा संचालन गरेको छ । जीतपुरसिमरा १ पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रवार एक सय ३३ अधिकृत र जवानलाई ट्राफिक नियम सम्बन्धि कक्षा संचालन गरिएको छ ।

ट्राफिक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतको नेतृत्वमा पुगेको प्रहरी टोलीले कक्षा संचालन गरेको हो । सचेतना कक्षामा दुर्घटना न्युनिकरण, सडक सुरक्षा र सवारी व्यवस्थापन निम्ति सशस्त्र प्रहरी संगठनका अधिकृत र जवानको भूमिका र सहकार्यको विषयमा जानकारी गराइएको बस्नेतले जानकारी दिएका छन् ।

यसअघि पर्सास्थित सशस्त्र प्रहरीको १३ नं. गणमा कक्षा संचालन भएको थियो । उक्त कक्षामा ६५ जना अधिकृत र जवान सहभागी थिए । अभियानलाई निरन्तरता दिने क्रममा आइतवार पिलुवास्थित सशस्त्र प्रहरीको गणमा सचेतना कक्षा संचालन गर्ने तयारी रहेको बस्नेतले जानकारी दिए ।

हालै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको प्रमुख भएर आएका ट्राफिक प्रहरी उपरीक्षक सन्तोष भट्टराईले सशस्त्र प्रहरीसंगको सहकार्यका लागी सशस्त्र प्रहरी लक्षित सचेतना अभियान सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्