कोल्हबीमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने
सिमराः कोल्हबीमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना भएको छ । जनशक्ति क्लबको आयोजनामा फागुन २६ गतेदेखि प्रथम कोल्हबी भलिबल कप प्रतियोगिता हुने भएको हो ।
आयोजक क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल काठमाडौंको टिमसहित गण्डकी प्रदेश क्लब पोखरा, मधेस प्रदेश क्लब जनकपुर र आयोजकले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५५ हजार नगद प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खुशी चौधरीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले नगर क्षेत्रभित्र सबै खेलको विकास गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले आगामी दिनमा अन्य खेलकुद प्रतियोगिता समेत नगरपालिकाले आयोजना गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा वडा नं. १ का अध्यक्ष राजहरण चौधरी, पूर्व भलिबल खेलाडी अमृत जिआर, अनुप दिपनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरीप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रतिनिधि शिवकुमार शर्मा, सशस्त्र प्रहरी बेस कोल्हबीका प्रमुख देवेन्द्र चौधरी, स्थानीय महेशकुमार साह, भुवन चौधरी, पारसनाथ चौधरी, रामबाबु चौधरी, विनोद पनुहर, सुनिता चौधरीलगायतको उपस्थिती रहेको थियो ।