बस दुर्घटना अपडेटः २३ यात्रु घाइते, दुईको अवस्था गम्भिर
सिमराः पथलैया–सिमरा सडकखण्ड अन्तर्गत हुलासमा बिहिवार दिउँसो भएको बस दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य छ ।
गम्भिर घाइते हुनेमा पर्सा पटेर्वा सुगौली गाँउपालिकाकी ५० वर्षीया राजकुमारी राम र कलैया उपमहानगरपालिका २३ का ४५ वर्षीय नरेश पटेल रहेका छन् । रामको टाउकोमा गम्भिर चोट लागेको छ ।
रामलाई सिमरास्थित अल्पाइन अस्पतालबाट थप उपचारका लागी बयोधा मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । यसैगरी अर्का गम्भिर घाइते पटेलसहित अन्यको अल्पाइन अस्पतामा उपचार भइरहेको छ । सामान्य घाइते भने उपचार गराएर घर फर्किएका छन् ।
वीरगन्जबाट नारायणगढतर्फ जादै गरेको ना५ख २१४८ बस साइकललाई जोगाउने क्रममा दुर्घटना भएको थियो । तिव्र गतिमा रहेको बस साइकललाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएर अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बस दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल ल्याएका थिए ।