कोल्हबीमा भलिबल प्रतियोगिता सुरु, पुलिसको बिजयी सुरुवात
सिमराः विभागिय टिम नेपाल पुलिस क्लबले कोल्हबीमा सुरु भएको प्रथम कोल्हबी भलिबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा आयोजक जनशक्ति क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिसले बिजयी सुरुवात गरेको हो । आयोजकलाई ३–० सेटले पराजित गर्ने क्रममा पुलिसले २५–१४, २५–१० र २५–१३ को जित निकालेको थियो ।
फागुन २९ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत शनिवार सशस्त्र प्रहरी बल काठमाण्डौ र मधेस प्रदेश जनकपुरधाम तथा मकवानपुर भलिबल संघ हेटौडा र पाथिभरा टाइगर भलिबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख पाँच हजार, उपविजेताले एक लाख पाँच हजार र तेस्रो हुने टिमले ५५ हजार नगद प्राप्त गर्नेछन् ।
यसअघि प्रतियोगिताको उद्घाटन कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले कोल्हबीमा खेलको विकासका लागी आफू प्रतिवद्ध भएर अघि बढ्ने बताए । उनले नगर भित्र रहेका खेलाडीको पहिचान गर्नका लागी खेलकुद प्रतियोगितालाई निरन्तरता दिदै जाने बताए ।
उद्घाटन समारोह क्लबका अध्यक्ष खुशी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।