सिडिओको रोहवरमा खुल्यो सिम्रौनगढ नगरपालिकाको तालाबन्दी
सिमराः कर्मचारीको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकामा गरिएको तालाबन्दी चार दिन पछि खुलेको छ । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटाको रोहबरमा पाँच बुँदे सहमती भएपछि तालाबन्दी खुलेको हो ।
करार, अस्थायी तथा ज्यालादारीका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयको विवाद चुलिएपछि वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरपालिकामा आइतवार तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण कार्यालयबाट प्रवाह हुँदै आएको सेवा ठप्प भएको थियो ।
नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न प्रजिअ सापकोटाले बुधवार नगर प्रमुख किशोरीप्रसाद कलवार र वडाध्यक्षबीच छलफल गराएका थिए । नगरपालिकामा स्थायी कर्मचारी पदपूर्ति नहुँदासम्म हाल कार्यरत कर्मचारीलाई निरन्तरता दिने सहमती भएपछि तालाबन्दी खुलेको हो ।
यसैगरी नगरपालिकामा स्विकृत दरबन्दी अनुसारको स्थायी कर्मचारी पदपूर्ति गर्नका लागि कार्यपालिका बैठकले निर्णय गरी प्रदेश लोक सेवा आयोगमा पत्राचार गर्ने निर्णय समेत छलफल भएको छ ।
छलफलमा नगरपालिकाको योजना शाखामा कार्यरत जितेन्द्र यादवको स्थानमा नगर प्रमुखले कार्यालयमा कार्यरत इन्जिनियरमध्ये एकलाई उक्त जिम्मेवारी दिने निर्णय भएको छ ।
छलफलमा प्रजिअ सापकोटा, नगर प्रमुख कलवारसहित बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगी, उप अनुसन्धान निर्देशक अभिनयकुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार न्यौपाने, वडाध्यक्ष दिनदयाल मुखिया, अरविन्दकुमार, अजिउल्लाह अंसारी, अवधेशकुमार सहनी, राम एकवाल, राजकुमार यादव, करार कर्मचारी संघका अध्यक्ष नितेशप्रसाद यादवलगायत उपस्थित थिए ।