उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलो पटक गृह जिल्लामा
सिमराः देशको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्ला बारा आएका छन् । यादव बुद्ध एयरको जहाजमा काठमाण्डौबाट सिमरा विमानस्थल हुँदै बारा आएका हुन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो बारा भ्रमण हो । बारा आएलगत्तै उपराष्ट्रपति यादवले बरियारपुरमा रहेको गढीमाई मन्दिरमा पुजा गरेका छन् । पुजासंगै बरियारपुरमा आयोजित कार्यक्रममा समेत उपराष्ट्रपति यादव सरिक भएका छन् ।
आफू निर्वाचित क्षेत्रमा समेत पर्ने ऐतिहासिक गढीमाई मन्दिरमा पुजा गर्दै उपराष्ट्रपति यादवले दुई दिने भ्रमणको सुरुवात गरेका हुन् ।
मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यादव बारा २ बाट दोस्रो पटक निर्वाचित भएका थिए । उपराष्ट्रपति यादवलाई सिमरा विमानस्थलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतले स्वागत गरेका थिए ।