चर्च ब्वाईजले उपाधीका लागि हिमालयन शेर्पासंग भिड्ने
सिमराः नवप्रवेशी टिम चर्च ब्वाईज जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता एनआरटीलाई २–० ले पराजित गर्दै चर्च ब्वाईज उपाधी नजिक पुगेको हो ।
चर्च ब्वाईजले उपाधीका लागि शनिवार हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल खेलमा मकवानपुर ११ लाई ३–० ले पराजित गर्दै शेर्पा फाइनलमा प्रवेश गरिसकेको छ ।
पहिलो सहभागितामै जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गर्ने क्रममा चर्च ब्वाईजका लागि ओउसो बिम्पा र रंजीत पाण्डेले गोल गरे । चर्च ब्वाईजले खेलको १७औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो ।
एनआरटीका कप्तान बिक्रम धिमालले चर्च ब्वाईजका रंजीत पाण्डेलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा ओउसो बिम्पाले गोल गरेका थिए । चर्च ब्वाईजले दोस्रो गोल खेलको ५२औं मिनेटमा गरेको थियो ।
डिफेण्डर अजय चौधरीको ब्याक पासलाई गोलरक्षक पुजन होनाले क्लियर गर्न नसक्दा चर्च ब्वाईजका रंजीत पाण्डले टिमको अग्रता दोब्बर पार्न सफल भए । पुजनको गल्तीको फाईदा उठाउदै रंजीतले खाली पोष्टमा गोल गरेका थिए ।
चर्च ब्वाईजे अग्रता दोब्बर पारेपछि १२औं संस्करणको विजेता एनआरटी दवावमा देखियो । एनआरटीले केही राम्रा अवसर गुमाउन पुग्दा प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले ज्योति विकास बैंकद्धारा प्रायोजित म्यान अफ दि म्याच बापत १० हजार नगद प्राप्त गरे ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष र ज्योती विकास बैंका शाखा प्रवन्धक भरत आचार्यलयले म्यान अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए ।