प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः तेक्वान्दो खेलमा बारा प्रथम

जनकपुरः मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा बारा प्रथम भएको छ । जनकपुरमा बैशाख १२ र १३ गते सम्पन्न भएको प्रतियोगितामा चार स्वर्ण जित्दै बारा प्रथम भएको हो ।
प्रदेशको सात जिल्लाका ४२ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा धनुषा दोस्रो र महोत्तरी तेस्रो भएको छ । बाराबाट पुरुषतर्फ ४५ केजी तौल समूहमा सुदीप नेपाली, ४८ केजीमा निश्चल धामी, महिलातर्फ ४४ केजीमा सम्झना पाख्रीन र ४६ केजीमा समिता लामाले स्वर्ण पदका जितेका हुन् । यस्तै ५१ केजी तौल समूहमा बाराका सचिन योञ्जनले रजत पदक प्राप्त गरेका छन् ।

यसैगरी दोस्रो भएको धनुषाबाट पुरुषतर्फ ५१ केजीमा महमद अविरल नदानले स्वर्ण पदका जित्दा ४८ केजीमा सुभाष साह र ४४ केजीमा सामना भट्टराईले रतज पदक जितेका छन् । तेस्रो भएको महोत्तरीका लागि महिलातर्फ ४२ केजीमा दिपिका गौतमले स्वर्ण पदक हात पारेकी छिन् । उनले सिरहाकी सलिना यादवलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
प्रतियोगितामा पुरुषतर्फ ४५ केजीमा पर्साका सिदार्थ प्रजापति र महिलातर्फ ४६ केजीमा कन्चन खड्काले रजत जितेका छन् । स्वर्ण र रजत जित्ने खेलाडी बैशाख १५ देखि १६ गतेसम्म काठमाण्डौमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनौट भएका छन् ।

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेता खेलाडी र निर्णायकलाई नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, जिल्ला खेलकुद परिषद धनुषाका प्रमुख विनोद सिंह, जिल्ला खेलकुद परिषद पर्साका प्रमुख बिजय शाह ठकुरी, सहायक प्रशिक्षक परमिन्दर बछाड, राजकुमार बछाड, पूर्णबहादुर योञ्जन, जिल्ला तेक्वान्दो संघ धनुषाका अध्यक्ष तिलक लामा, प्रदेश क्षेत्रीय उपाध्यक्ष सुरेश लामालगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले गरेका थिए ।