जीतपुरसिमरा उपमहानगर र काठमाडौं महानगरका प्रमुखबीच भेटवार्ता, सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल
सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहबीच सोमबार भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुखबीच भेटवार्ता भएको हो ।
भेटमा दुबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्दै एकाअर्कासंग सहकार्य र साझेदारी गरेर अघि बढने बिषयमा छलफल भएको छ । नगर प्रमुख पौडेल र साहबीच भएको भेटवार्तामा कृषि, पर्यटनलगायतको क्षेत्रमा सहकार्य गरेर काम गर्ने बिषयमा छलफल भएको बताइएको छ ।
काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गरेर अघि बढ्न प्रस्ताव गरेसंगै जीतपुरसिमराका प्रमुख काठमाडौं पुगेका हुन् । काठमाडौं महानगरपालिकाले देशबिदेशका स्थानीय तहसंग भगिनी सम्बन्ध स्थापित गर्ने गरेको छ ।
भेटमा दुबै पालिकाका प्रमुख जेठ महिनाभित्र भगिनी सम्बन्ध सम्झौतापत्रमा हस्ताक्षर गर्न सकारात्मक देखिएका छन् । भेटका क्रममा जीतपुरसिमराका प्रमुख पौडेलले महानगर प्रमुख साहलाई भ्रमणको निम्तो समेत दिएका छन् ।
प्रमुख साहसंगको भेटवार्तामा जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडा नं. ८ का अध्यक्ष शिवशंकर कुशवाहा, इन्जिनियर संजीव रुपाखेतीलगायत सहभागी थिए ।