२० दिनको नवजात शिशुको हत्या गर्ने बाबु पक्राउ
कलैयाः आफ्नो २० दिनको नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देवताल ४ का २४ वर्षीय नुर आलम अंसारी रहेका छन् ।
आलमलाई काठमाण्डौ चन्द्रागिरी नगरपालिका १५ स्थित ढुंगेअड्डाबाट पक्राउ गरेको हो । काठमाण्डौस्थित अपराध अनुसन्धान कार्यालयले आलमलाई पक्राउ गरी बारा प्रहरीलाई बुझाएको हो ।
आलमले जेठ २४ गते घर आएका बेला आफ्नो २० दिनको छोराको घाटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ । आलमकी पत्नी कलमा खातुनले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तो छ घटनाः
कलैया उपमहानगरपालिका ३ का नबि हसन अंसारीकी छोरी कलमासंग २०७८ सालमा विवाह गरेका आलम काठमाण्डौ बस्दै आएका थिए । पत्नी कमलासंग पटकपटक झगडा गर्दै आएका उनि पछिल्लो पटक घर आएका बेला छोराको हत्या गरेका हुन् ।
आलमले उक्त २० दिनको छोरा आफ्नो नरहेको भन्दै पत्नीमाथी आशंका गर्दै आएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार आशंकाकै कारण आलमले छोराको हत्या गर्ने योजना बनाएका हुन् ।
घरमा सुतिरहेको २० दिने छोरालाई घाटी थिचेर हत्या गरेपनि आलमले टुनामुना लागेको भन्दै नाटक रचेका थिए । आलमको छोराको नाकबाट रगत निस्किएपछि उनलाई तत्काल अस्पताल लगिएको र अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि परिवारसहित स्थानीय धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरे । घटना भएको दुई दिनपछि आलम काठमाण्डौ फर्किए । काठमाण्डौ पुगेको केही दिनमा पत्नी कलमालाई फोन गर्दै छोरालाई आफूले मारेको र तलाई पनि मार्दिर्ने भन्दै धम्की दिएका थिए ।
उक्त धम्कीको फोन रेकर्डसहित पत्नी कलमाले प्रहरीमा जोहरी दिएपछि आलम पक्राउ परेका हुन् । पत्नीको जाहेरीपछि प्रहरीले आलमको खोजी सुरु गरेको थियो ।