सामुदायिक विद्यालयको छात्रवृत्ति वितरण पारदर्शी बनाउन अनेरास्ववियुको माग


eShilalekh

२९ जेष्ठ २०८०, सोमबार १९:३५

सिमराः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सामुदायिक तथा संस्थागत विद्यालयमा वितरण गरिने छात्रवृत्तिको विवरणलाई पारदर्शी बनाउन माग गरेको छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटीको निर्देशन अनुसार बाराले जिल्लाको सबै तहका स्थानीय तहसंग छात्रवृति वितरणको अवस्थालाई पारदर्शी बनाउन माग गरेको हो ।

केन्द्रीय निर्देशन कार्यान्यवनका सिलसिलामा जिल्ला अध्यक्ष सम्राट खनालको नेतृत्वमा सोमबार जीतपुरसिमरा उपमहानगरपालिका पुगेको अरेरास्ववियुको टोलीले नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नगर प्रमुखलाई पत्र बुझाउदै अनेरास्ववियुले सामुदायिक विद्यालयबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण उपलब्ध गराउन र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण विद्यालय भवनको भित्तामा राख्न अनुरोध गरेको छ ।

सामुदायिक विद्यालय सुधारका निम्ति अनेरास्ववियुले एक विद्यालय महिनामा एक स्वयंसेवक शिक्षक बनेर जाने र विद्यालयमा रहेका कमीकमजोरी सुधारका लागि पहल गर्ने केन्द्रीय निर्णय भएअनुसार उक्त अभियानमा सहजीकरण गर्न नगर प्रमुख पौडेलसंग माग गरेको छ ।

पत्र बुझाउने क्रममा अनेरास्ववियु मधेस प्रदेश त्रिलोक विक्रम शाह, केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, केन्द्रीय सदस्य मनिष प्याकुरेल, जिल्ला उपसचिव निर्जल घिमिरे, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष इश्वर बस्नेतलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्