कांग्रेस जिल्ला सचिव कुटपिट प्रकरणः प्रहरीविरुद्ध कांग्रेसको प्रदर्शन जारी


eShilalekh

४ श्रावण २०८०, बिहीबार १८:५३

सिमराः नेपाली कांग्रेस बाराले जिल्ला सचिव भैयाराम यादवमाथी कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन गर्न माग गर्दै विहिबार पनि कलैयामा प्रदर्शन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार राती यादवमाथी कुटपिट भएको घटनापछि आन्दोलित बनेको कांग्रेसले प्रहरीविरुद्धको प्रदर्शन जारी राखेको हो । कांग्रेसले प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएको छ ।

प्रहरी अधिकारीद्धय पाण्डे र साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ । सवारी दुर्घटना सम्बन्धि विषयमा छलफल गर्न पुगेका बेला यादवमाथी कुटपिट भएको भन्दै कांग्रेसले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रहरीले कांग्रेस सचिव यादवमाथी कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथी समेत दुव्र्यवहार भएको भन्दै एकिकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ । दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरीविरुद्ध र्याली तथा विरोधसभाको समेत आयोजना गरिएको थियो ।

विरोधसभामा नेपाली कांग्रेसका नेता एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुरलगायतले सम्बोधन गरेका थिए ।

कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथी कुटपिट भएको यादवले बताएका छन् । कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्