समयमै खर्च विवरण बुझाउने सांसद चौधरी पनि जरिवानाको सूचिमा, (हेर्नुहोस् बाराका १२६ उम्मेदवारको नामावली)


eShilalekh

१० श्रावण २०८०, बुधबार २२:१०

सिमराः निर्वाचन आयोगले बाराको चार निर्वाचन क्षेत्रका एक सय २६ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले प्रतिनिधिसभातर्फ ४९ र प्रदेशसभातर्फ ७७ उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

जरिवानामा पर्ने प्रतिनिधिसभाको उम्मेदवारको सूचिमा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, नेकपा एमालेका नेता एकबाल मिया, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेसहित ४९ जना छन् । यसैगरी प्रदेशसभातर्फ नेकपा एमालेका देवनारायण थारु (चौधरी), नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका रमेश दंगाल, जसपाका भरतबहादुर खड्का, स्वतन्त्र उम्मेदवार सारदा शंकर कलवारसहित ७७ जना छन् । चौधरी र कलवार निर्वाचित सांसद हुन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम देशभरबाट प्रतिनिधिसभातर्फ एक हजार ३७ र प्रदेशसभातर्फ एक हजार तीन सय ९८ जना उम्मेदवार गरि दुई हजार चार सय ३५ उम्मेदवारलाई जरिवाना गरिएको आयोगले जनाएको छ । जरिवानामा परेका उम्मेदवारलाई सात दिन भित्र खर्च विवरण सार्वजनिक गर्न र ३५ दिनभित्र जरिवानावापतको रकम बुझाउन समय दिएको छ ।

जरिवाना नबुझाउने उम्मेदवारले आगामी एक निर्वाचनमा उम्मेदवार हुन नपाउने र जरिवानावापतको रकम सरकारी बक्यौता सरह असुल उपर गरिने समेत जनाएको छ ।

प्रतिनिधिसभातर्फका उम्मेदवारः

Sangh-ummedwar_Bara-1

प्रदेशसभातर्फका उम्मेदवारः

Pradesh-ummedwar_bara-1

खर्च विवरण बुझाएका चौधरी समेत जरिवाना तिर्नेको सूचिमा

बारा ४(१) बाट निर्वाचित सांसद चौधरीले समयमै खर्च विवरण बुझाएपनि उनको नाम जरिवाना तिर्नेको सूचिमा परेको छ । चौधरीले पुस ४ गते जिल्ला निर्वाचन कार्यालय बारामा पुगेर खर्च विवरण बुझाएका थिए ।

उम्मेदवार चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ को कार्यालयको सूचना पाटीमा समेत खर्च विवरण टाँस गरेका थिए । चौधरीका स्वकिय सचिव रविन्द्र खकुरेलले आयोगको तोकेको समयभित्रै जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएको जानकारी दिए ।

समयमै खर्च विवरण बुझाउदा समेत जरिवाना तिर्नेको सूचिमा नाम सार्वजनिक हुनु दुःखद् रहेको बताए । उनले यस विषयमा जिल्ला निर्वाचन कार्यालयमा तत्कालै सम्पर्क गरेर त्रुटी सच्याउन अनुरोध गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्